Tune to BFM 91.2|Biratnagar

अपहरणमा परेको नाटकगर्ने २ जना पक्राउ

विराटनगर, २८ फागुन । मिटर ब्याजको रकम भुक्तानी गर्न आफै अपहरणमा परेको नाटक गरि बाबुबाट फिरौती असुल्ने ब्यक्तीसहित २ जना पक्राउ परेका छन् । आपराधिक लाभको अभियोगमा पक्राउ गरिएका मोरङ बूढीगंगा गाँउपालिका ३ बाँसबारीका २४ बर्षिय मुकेशकुमार महतो र सोहि ठाँउका २५ बर्षिय कृष्ण राजवंशीलाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

घटना विवरणअनुसार फागुन २३ गते शुक्रबार घरबाट हिंडेका मुकेश आफु अपहरणमा परेको र अपहरणकारीले ३० लाख फिरौती रकम मागेको भन्दै आफ्ना बाबु शिवनारायण महतोलाई फोन गरि जानकारी गराएका थिए । रकम नदिए अपहरणकारीले आफूलाई मार्ने भन्दै उनले तत्काल रकम उपलब्ध गराउन आफ्ना बाबुलाई दवाव दिएको प्रहरीले बताएको छ ।

मुकेशले अपहरणको नाटकमा आफ्नै बाबुकोमा मुन्सीको काम गर्ने कृष्णलाई सहयोगीका रुपमा प्रयोग गरेका थिए । ३० लाख रुपैयाँबाट शुरु भएको फिरौतीको बार्गेनिङ २१ लाखमा मिलेपछि फोनमा पाएको निर्देशन अनुसार शिवनारायणले विराटनगर–४ स्थित नहर छेउमा १८ लाख नगद र ३ लाखको चेक लिएर पुगेका थिए ।

यसअघि नै अपहरणको जानकारी पाइसकेको जिल्ला प्रहरीको टोली खटिइसकेको थियो र खोजतलासलाई पनि निरन्तरता दिइसकेको थियो । सो क्रममा प्रहरीले गएको २६ गते भन्टाबारीबाट मुकेशलाई नियन्त्रणमा लिएको थियो भने फिरौतीको रकम बुझेका कृष्णलाई समेत रकमसहित प्रहरीले पक्राउ गरेको थियो ।

प्रारम्भिक सोधपुछको क्रममा अभियुक्त मुकेशले आफुले १ बर्षअघि एक ब्यक्तिबाट ५ लाख सापटी लिएको र सो रकम मिटर ब्याजका कारण ९६ लाख तिरेको तथा थप ५० लाख तिर्नुपर्ने भएकाले अपहरणको नाटक गरेको बयान दिएका छन् ।

पक्राउ गरिएका विरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार आपराधिक लाभको कसुरमा मुद्दा चलाइने मोरङ प्रहरीका प्रवक्ता डिएएसपी मानबहादुर राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button