अमेरिकामा बस्ने नेपाली समृद्धिसँग जोडिन आतुर : मुख्यमन्त्री राई

0
208

विराटनगर, २९ असार । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले निरन्तरको वर्षासँगै आएको बाढी पहिरोले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । अमेरिकाको बालटिमोरमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा प्रमुख अतिथीको हैसियतमा सहभागी भएर आज प्रदेश १ को राजधानी विराटनगर फर्किनुभएका राईले मुलुकका अन्य प्रदेश भन्दा बाढी र पहिरोबाट प्रदेश १ बढी आक्रान्त बनेको भन्दै दुःख व्यक्त गर्नु भयो । विराटनगर विमानस्थलमा संचारकर्मीसँग बोल्दै उहाँले भन्नु भयो, ‘बाढी र पहिरोका कारण भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्न चाहन्छु ।’ अर्को प्रसंगमा राईले अमेरिकामा आफूले सम्मेलनका विभिन्न ‘सेसन’ लाई सम्बोधन गरेको जानकारी दिनु भयो । त्यस क्रममा अमेरिकामा बस्ने नेपालीबीचको एकतालाई सदृढ बनाउने विषयमा आफू केन्द्रीत भएको उहाँको भनाइ छ । राईले त्यहाँ बस्ने नेपालीसँग नेपाल राष्ट्रका लागि के गर्न सकिन्छ भनेर छलफल समेत भएको जानकारी दिनु भयो । छलफलका क्रममा अमेरिकामा बस्ने नेपालीमा नेपालको समृद्धि र विकासको यात्रामा जोडिने कुरामा उत्साह देखिएको उहाँले बताउनु भयो । नेपालमा लगानीको उपयुक्त वातावरण बनेको विषय पनि आफूले जानकारी गराएको उहाँको भनाइ छ । अमेरिकाको प्रविधिलाई नेपाल ल्याउने र यहाँको विकासमा जोड्ने बारेमा पनि त्यहाँ बस्ने नेपालीसँग छलफल भएको उहाँले बताउनु भयो । अमेरिकामा रहेको अनलाइन शिक्षा पद्धतीलाई नेपालमा भित्राउन र सबै भन्दा पहिले प्रदेश १ बाटै लागू गर्न आग्रह र आब्हान गरिएको जानकारी राईले दिनु भयो । कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरी र नेकपा नेता ठाकुर गैरे पनि सहभागी भएको जानकारी राईले दिनु भयो । कार्यक्रमकै दौरानमा नेपालका लागि अमेरिकाका पूर्व राजदूत पिटर वोडेसँग पनि छलफल भएको उहाँको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here