Tune to BFM 91.2|Biratnagar

अविश्वासको प्रस्ताव पारित हुन्छ : नेता आचार्य

विराटनगर, १४ माघ । नेकपा दाहाल–नेपाल समूहका प्रदेश १ इन्चार्ज भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव पारित हुने बताउनु भएको छ । विपक्षी दलको सहयोगमा मुख्यमन्त्री राई विरुद्धको प्रस्ताव पारित हुने उहाँको दावी छ ।

प्रदेश सरकार अल्पमतमा परिसकेको उहाँले बताउनुभयो । संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रदेश सांसदहरुसँग छलफल भईरहेको नेता आचार्यले बताउनुभयो । अविश्वास प्रस्ताव पारित भएपछि सरकार गठनबारे छलफल अघि बढ्ने उहाँले बताउनुभयो । दाहाल–नेपाल समूहका प्रदेश १ संसदीय दलका नेता समेत रहेका आचार्यले भन्नुभयोे,‘ अहिले अविश्वास प्रस्ताव पारित गर्नेमा ध्यान केन्द्रित गरेका छौं, प्रस्ताव पारित पछि सरकार गठनबारे छलफल अघि बढ्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता भए राजीनामा दिन नेता आचार्यले सुझाव दिनुभयो । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने उहाँको जिकिर छ । काम चलाउन सरकारले दीर्घकालिन निर्णय गर्न नसक्ने उहाँले बताउनुभयो । उहाँले संसद पुर्नस्थापना भएरै छाड्ने बताउनुभयो ।

नेता आचार्यले भन्नुभयोे,‘ वैशाखको निर्वाचन नाटक हो ।’ माघ १६ गते विराटनगरमा आयोजना गरिएको विरोध कार्यक्रमबारे जानकारी दिन आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता आचार्यले विरोध कार्यक्रम भव्य हुने बताउनुभयो । विरोध कार्यक्रममा ६० हजार बढी व्यक्तिको सहभागिता रहने उहाँले बताउनुभयो ।

नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संवोधन गर्ने कार्यक्रम भव्य हुने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button