Tune to BFM 91.2|Biratnagar

अवैध भारतीय रुपैयाँसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर, २५ पुस । अवैध भारतीय रुपैयाँसहित विराटनगरबाट दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले चार लाख ९८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरेकामा एक युवा र एक युवती छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१ की २२ वर्षीया अञ्जली झा र विराटनगर महानगरपालिका–१५ का २६ वर्षीय रञ्जीत चौधरीलाई सशस्त्र प्रहरी बल वीओपी विराटनगर रानीबाट सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । झोलामा भारतीय रुपैयाँ बोकेर नेपालतर्फ पैदल नै आउँदै गरेको अवस्थामा उनीहरु विराटनगर–१६ दरैयाबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये युवतीले बोकेको झोलाबाट अवैध रकम बरामद भएको हो ।

उनीहरुको साथबाट पाँच सय दरका सात सय र दुई हजार दरका ७४ वटा भारतीय नोट गरेर चार लाख ९८ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पाँच सय दरमाथिका भारतीय नोट बोक्न नेपालमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

पक्राउ परेकाहरु के कामले भारत गएका हुन् तथा के प्रयोजनका लागि अवैध रुपमा लिएर नेपाल आएका हुन् भन्ने बारेमा खुल्न बाँकी रहेको जनाइएको छ । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले बरामद भएको रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि शनिबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनु भयो ।

चेकजाँचका क्रममा स्रोत नखुलेको रकम र प्रतिबन्धित नोटसहित हिँडिरहेको फेला परेपछि उनीहरुलाई हिजो दिउँसो ३ बजेतिर पक्राउ गरिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button