Tune to BFM 91.2|Biratnagar

अवैध ४६ काटुन नमुना औषधि बरामद

विराटनगर, १६ जेठ । अवैध ढंगले एउटा घरभित्र स्टोर (भण्डारण) गरिएको अवस्थामा ठूलो परिणामको नमुना औषधि आज विराटनगरबाट बरामद गरिएको छ । फार्मेसीको अनुगमनमा निस्किएको प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ भट्टीमोडबाट ४६ काटुन नमुना औषधि (चिकित्सक सेम्पल) बरामद गरेको हो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएका बेला अभाव हुनसक्ने औषधिको अवस्थाका बारेमा टोलीले अनुगमन थालेको थियो ।

त्यस क्रममा रवि रजकले आफ्नै घरमा स्टोर गरेर राखेको अवस्थामा ‘फिजिसियन सेम्पल’का रुपमा मात्रै प्रयोग गर्न मिल्ने र बिरामीलाई बिक्री गर्न नपाइने नमुना औषधि बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो । भारी मात्रामा नमुना औषधि स्टोर गर्ने रविलाई पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको एसपी खड्काले बताउनु भयो । विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलका अनुसार आफ्नो नयाँ उत्पादनका बारेमा जानकारी दिन उत्पादक कम्पनीले बजार प्रतिनिधि (एमआर)मार्फत औषधिको नमुना चिकित्सकसम्म पुर्याउँछ ।

तर बिरामीलाई बिक्री गर्न नमिल्ने त्यही नमुना औषधि एउटा घरभित्र अवैध रुपले भण्डारण गरिएको अवस्थामा फेला परेको हो । कट्टेलका अनुसार एन्टिवायोटिक, कफ सिरफ, सेनिटाइजर, पेन किलर इन्जेक्सन लगायतका ४६ काटुन औषधि बरामद गरिएको छ ।

नमुना औषधि उक्त पसलमा राखेर अनाधिकृत रूपमा बिक्री गर्ने गरिएको हुनसक्ने आशंका अनुगमन टोलीले गरेको छ । औषधि व्यवस्था विभागमा प्रल्हादप्रसाद सिंखडाको नाममा दर्ता रहेको पसल अर्कैले सञ्चालन गरिरहेको पाइएपछि बन्द गर्दै औषधि बिक्री वितरणमा रोक लगाएर आधिकारिक कागजपत्रसहित पाँच दिनभित्रमा उपस्थित हुन निर्देशन दिइएको कट्टेलले बताउनु भयो । औषधि भण्डारणस्थलबाट अनुगमन टोलीले विभिन्न बैंकका एक सय ६८ वटा एटीएम कार्ड र ७२ वटा चेक पनि बरामद गरेको छ ।

एसपी खड्काका अनुसार बरामद भएको औषधिको कुनै बिलविजक, रेकर्ड र खरिद गरेको स्रोत केही छैन । आधिकारिकता र इजाजत बिना ठूलो परिणाममा नमुना औषधि भण्डारण गरिएको बारेमा औषधि व्यवस्था विभागसँग समन्वय गर्दै अनुसन्धान थालिएको उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button