अस्पतालको विद्युत काट्ने प्राधिकरणको चेतावनी

0
388

विराटनगर, १९ असार । प्रदेश १ कै सबै भन्दा ठूलो सरकारी स्वास्थ्य संस्थाको रुपमा रहेको विराटनगरको कोसी अस्पतालको लाइन काट्ने चेतावनी विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले दिएको छ । अस्पतालले प्राधिकरणलाई विद्युत महसुल वापत एक करोड ४१ लाख ९ हजार ७६ रुपैयाँ ३० पैसा बुझाउन बाँकी देखिएको छ । प्राधिकरणले जेठ मसान्तसम्मको बक्यौता रकम एक साता भित्रमा बुझाउनका लागि भनेर अस्पतालको नाममा बिहीबार पत्र पठाएको छ । प्राधिकरण विराटनगर केन्द्रका प्रमुख राजीवकुमार सिंहले विद्युत प्रयोग गरे वापत अस्पतालले लामो समयदेखिको महसुल बुझाउन बाँकी रहेको बताउनु भयो । रकम नबुझाएमा जुनसुकै बेला प्राधिकरणको नियमअनुसार लाइन काटिदिने उहाँको भनाइ छ । पटक–पटक पत्राचार गर्दा पनि हालसम्म बक्यौता रकम भुक्तानी नगरिएको उहाँको भनाइ छ । अस्पतालमा विभिन्न पाँचवटा मिटर जडान गरेर विद्युत सेवा सञ्चालन गरिएको छ । एउटा मिटरको एक लाख ७५ हजारदेखि एक करोड ३१ लाख रुपैयाँसम्म बक्यौता छ । अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले पैसा तिर्न नसकेर प्राधिकरणले विद्युत लाइन काट्यो भने सबै सेवा ठप्प हुने बताउनु भयो । बुढाथोकीका अनुसार अस्पतालमा बिजुली भएन भने ल्याब, शल्यक्रिया, आईसीयू, एनआईसीयू, ओपीडी, आकस्मिक सबै सेवा ठप्प हुन्छ । अस्पतालमा दैनिक एक हजार दुई सय बढीको उपचार र स्वास्थ्य परीक्षण हुने गरेको छ । सरकारले विद्युत महसुल वापत अस्पताललाई वार्षीक ५० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । तर वार्षीक ९६ लाख रुपैयाँ भन्दा बढी महसुल उठ्ने गरेको बुढाथोकीले बताउनु भयो । वर्षीक ४६ लाख बढी रकम अपुग भएकाले पनि समयमा विद्युत महसुल बुझाउन नसकिएको अस्पतालले जनाएको छ । सूचना अधिकारी बुढाथोकीले सेवा नियमित सञ्चालन गर्न पनि अस्पतालले आफ्नो आन्तरिक स्रोतबाट महसुल भुक्तानीका लागि पहल गर्ने बताउनु भयो । अस्पतालमा चिकित्सकसहित दुई सय ६७ जनाको आन्तरिक दरबन्दी छ । सबै जनालाई अस्पताल विकास समितिले आफ्नै स्रोतबाटै तलव उपलब्ध गराउँछ । अस्पतालमा सरकारी दरबन्दी भने विशेषज्ञ चिकित्सकसहित दुई सय ४९ जनाको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here