Tune to BFM 91.2|Biratnagar

अस्पतालमा रहेका युवाको साढे ८ महिनापछि उद्धार

विराटनगर, १९ फागुन । उपचारको पैसा तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होममा रहेका संखुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेललाई साढे ८ महिनापछि उद्धार गरेर अस्पतालबाट निकालिएको छ ।

धरान–संखुवासभा सरोकार समाजको अगुवाईमा उपचार वापत लागेको खर्च बुझाएर जीवनलाई आज अस्पतालबाट बाहिर निकालिएको हो । उहाँको उपचार वापत लागेको पाँच लाख रुपैयाँ अस्पतालाई बुझाइएको समाजका अध्यक्ष मिक्मा भोटेले बताउनु भयो । दुई लाख ९७ हजार अस्पतालले मिनाहा गरिदिएको छ ।

अध्यक्ष भोटेकाअनुसार औषधि र क्यान्टिनमा लागेको एक लाख ७२ हजार रुपयाँ पनि भुक्तानी गरिएपछि अस्पतालले डिस्चार्ज दिएको छ । चन्दनपुर घर भई अस्टे«लियामा रहेकी सविना थापाले जीवनका लागि एक लाख रुपैयाँ सहयोग गर्नु भएको थियो । हङ्कङबाट धर्म राईको नेतृत्वमा संकलन गरेर दुई लाख ९३ हजार तीन सय ६० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भोटेको भनाइ छ ।

उहाँकाअनुसार संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम लगायतको पहलमा गृह मन्त्रालयले पाँच लाख रुपैयाँ दिएको छ । सरोकार समाजले २४ हजार एक सय ८० रुपैयाँ सहयोग गर्यो । उहाँकाअनुसार संखुवासभाको खाँदबारी नगरपालिकाले पनि एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । भोटेले उद्धार गरेर जीवनलाई थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिने जानकारी दिनु भयो ।

उहाँकाअनुसार काठमाडौंमा सामाजिक अभियन्ता संखुवासभा निवासी रविन ढकालले उपचारमा सहयोग गर्नु हुने छ । खेलमैदान निर्माणको जिम्मा लिएर बुवा गणेशसँगै भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा पुगेका बेला त्यहाँ निर्माणाधिन इर्खुवा हाईड्रोपावरका कामदारले रडले प्रहार गरेर जीवनलाई गत असार ५ गते गम्भीर घाइते बनाएका थिए ।

आक्रमण गर्ने चार जना प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर असार ३० गते छुटिसकेका छन् । बुवा गणेशले नै उहाँलाई उपचारका लागि असार ६ गते विराटनगर ल्याउनु भएको थियो । उपचार गराएको पैसा नतिरेपछि र परिवारका कोही पनि सम्पर्कमा नआएपछि जीवनलाई अस्पतालले विदा दिन सकेको थिएन ।

घाँटीमा प्वाल पारेर पाइप राखिएकाले उहाँको बोली आउँदैन । अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले घाँटीमा रड प्रहार भएका कारण जीवनको घाँटीमा पाइप राख्नु परेको बताउनु भयो ।

‘श्वास फेर्न गाह्रो भएपछि घाँटीमा प्वाल पारेर पाइप राखिएकाले शल्यक्रियामार्फत यसलाई निकाल्नु पर्छ,’ डा. साहले भन्नु भयो , ‘प्रदेश १ मै सम्भव नहुने र काठमाडौंमा गरिने यो शल्यक्रिया जटिल खालको हुन्छ ।’ उहाँले घाँटीको शल्यक्रिया गरेर पाइप निकालेपछि बोली आफै खुल्ने पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button