Tune to BFM 91.2|Biratnagar

विराटनगरका अस्पताललाई प्रशासनको चेतावनी

विराटनगर, २४ भदौ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका अस्पतालहरुलाई उपचारका लागि ल्याइएका बिरामीलाई उपचारको वातावरण बनाउन निर्देशन दिएको छ ।

उपचार नपाएर सर्वसाधारणले ज्यान गुमाइरहेको घटना बढेसँगै प्रशासनले बिरामीको उपचार नगर्ने छुट अस्पताललाई नभएको स्पष्ट पारेको हो । यो वा त्यो बहानामा उपचार नगर्ने छुट अस्पताललाई नभएको भन्दै प्रशासनले उपचारमा आनाकानी गर्नेले कारबाहीको भागिदार बन्नु पर्ने चेतावनी पनि दिएको छ ।

केही समययता शौचालयमा लडेर घाइते भएकी सात महिनाकी गर्भवती मोरङको कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी), भात सर्किएपछि बेहोस बनेकी उदयपुरको चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया डम्बरकुमारी बस्नेत, अचानक पिसाब बन्द भएर समस्यामा परेकी मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीय सानकुमारी राई लगायतको उपचार नपाएर ज्यान गइसकेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सबै अस्पतालसँग मौखिक स्पष्टिकरण सोधिसकिएको जानकारी दिनु भयो । बिरामीको उपचार नगर्ने अस्पताललाई नजिकबाट नियाल्ने काम भइरहेको निरौलाले बताउनु भयो । यसअघि पनि उहाँले सबै अस्पतालका चिकित्सक र सञ्चालकलाई छलफलमा बोलाएर बिरामी अस्वीकार नगर्न निर्देशन दिइसक्नु भएको छ ।

उनले बिरामीले उपचार नपाउने धेरै गुनासो आफूसम्म आइरहेको जानकारी दिनु भयो । अस्पतालले मनपरी गरिरहँदा सर्वसाधारणले दुःख पाउने र अकालमा ज्यान गुमाउनु परेकोभन्दै प्रजिअ निरौलाले सबैलाई बिरामीको स्वास्थ्य उपचार सम्बन्धी कानुनका बारेमा सम्झाइसकेको बताउनु भयो ।

‘अस्पताललाई बिरामी नफर्काउन सम्झाउने काम भइसकेको छ,’ उहाँले भन्नु भयो , ‘अब त्यही क्रम दोहोर्याए उन्मुक्ती दिन सकिँदैन ।’ बिरामीको उपचार गर्दिन भनेर अस्पतालले पन्छिन नपाउने कुरा कानुनमै स्पष्ट रहेको उहाँको भनाइ छ ।

बिरामीको उपचार नगर्ने अस्पताललाई जनस्वास्थ्य ऐन २०७५ र फौजदारी संहिता २०७४ अनुसार कारबाही अघि बढाइने भएको छ ।

कोरोना संक्रमितबाहेक पनि स्वास्थ्य सम्बन्धी अरु समस्या भएका बिरामीलाई तत्काल उपचारको प्रबन्ध गर्न उच्च अदालत विराटनगरलेसमेत भदौ ८ गते अन्तरिम आदेश दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button