Tune to BFM 91.2|Biratnagar

अस्पतालले लिन नमान्दा एम्बुलेन्समै बिरामीको मृत्यु

विराटनगर, ९ साउन । विराटनगरका ठूला अस्पतालले उपचारका लागि लिन नमान्दा उदयपुरबाट ल्याइएका एक बिरामीको एम्बुलेन्समै आज दिउँसो मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको अस्पताल डुलाउँदाडुलाउँदै मृत्यु भएको हो । बिरामी अवस्थाका उनलाई श्रीमती कमला र बहिनी चमेलीले स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर आज विराटनगर ल्याएका थिए । पदमलाई दिउँसो २ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा पुर्याइएको थियो ।

तर अस्पतालले लिन मानेन । श्वासप्रश्वासमा समया रहेको जानकारी गराएपछि उपचारका लागि लैजान भनेर स्ट्रेचरमा राखिसकिएका बिरामीलाई अस्पतालले त्यत्तिकै फिर्ता पठाएको एम्बुलेन्स चालक सुवास तामाङले बताउनु भयो । चालक तामाङले बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि गर्ने आधार खोजिएको र त्यो आफूहरुसँग नहुँदा नोबेलले लिनै नमानेको बताउनु भयो । ‘

कोरोनाको शंकास्पद मानेर त्यहाँका कर्मचारी र स्वास्थ्यकर्मीले अर्को अस्पताल लैजान सुझाव दिए,’ उहाँले भन्नु भयो , ‘त्यसपछि पदमलाई दिउँसो २ः३० बजेतिर कोसी अस्पताल पुर्याइएको थियो ।’ कोसीको आकस्मिक कक्षबाहिर एम्बुलेन्समा लगेर राखिएका बिरामीलाई त्यहाँका चिकित्सकले पनि लिन नमानेको तामाङको भनाइ छ । कोरोनाको शंकास्पद भन्दै कोसीका चिकित्सकले पनि लिनै नमानेको र त्यहाँ पुगेको लगभग एक घण्टापछि बिरामीको एम्बुलेन्सभित्रै मृत्यु तामाङले बताउनु भयो ।

कोसीका चिकित्सकले पनि परीक्षण नगरिकन बिरामीलाई उपचारका लागि जिम्मा लिन नसक्ने जवाफ दिएको उहाँको भनाइ छ । बाटोमा पनि श्वासप्रश्वासमा थप समस्या हुँदै गएकाले पदमलाई अक्सिजन लगाउँदै ल्याइएको उहाँले बताउनु भयो । स्वास्थ्यमा समस्या देखिएपछि पदमलाई हिजो कटारी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचार सम्भव नहुने भन्दै कटारी अस्पतालले रेफर गरिदिएपछि विराटनगर ल्याइएको चालक तामाङले बताउनु भयो । अस्पतालमा सकुसल ल्याइपुर्याए पनि चिकित्सकले उपचार गराउन नमान्दा बिरामीको एम्बुलेन्समै मृत्यु हुनु अस्पतालको गम्भीर लापरबाही रहेको आफन्त रोमा गोलेले बताउनु भयो । उहाँले कुनै पनि बिरामीले उपचार नपाएर अकालमा ज्यान गुमाउने अवस्था आउनु दुःखद् भएको भन्दै लापरबाही गर्नेमाथि कारबाही हुनु पर्ने माग राख्नु भयो । पदमको मृत्यु भएपछि उनलाई उपचारका लागि लिएर आएका श्रीमती र बहिनी पीडाले बेहोस भएका थिए ।

उनीहरु एम्बुलेन्सभित्रै बेहोस भए पनि लामो समयसम्म कसैले वास्ता गरेन । अस्पतालका कर्मचारी र चिकित्सकले एम्बुलेन्समा बिरामीको मृत्यु हुँदा तथा बिरामीका आफन्त बेहोस हुँदा पनि कुनै ‘रेस्पोन्स’ नगरेको चालक तामाङको गुनासो छ । लगभग ५ः३० बजेतिर पदमको शव पीपीई लगाएका स्वास्थ्यकर्मी आएर अस्पतालको आइसोलेसनमा लिएर गए ।

परीक्षणका लागि मृतकको स्वाब संकलन गरिएको कोसीका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताउनु भयो । ‘अस्पताल आइपुग्दा बिरामी एकदमै सिकिस्त र अन्तिम अवस्थामा थिए,’ उहाँले भन्नु भयो , ‘कोरोना संक्रमणको आशंका गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्ने तयारी हुँदै गर्दा एम्बुलेन्समै बिरामीको मृत्यु भयो ।’

मृतकमा कोरोना संक्रमण थियो थिएन भन्ने कुरा स्वाबको रिपोर्ट आइसकेपछि मात्रै भन्न सकिने उहाँले बताउनु भयो । दासले स्वाब परीक्षणलाई भने प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिँदै शव व्यवस्थापन भने रिपोर्ट आइसकेपछि मात्रै हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button