Tune to BFM 91.2|Biratnagar

आइसोलेनसमा भर्ना गर्न लाग्दा एक पुरुषको मृत्यु

विराटनगर, २० साउन । कोरोना भाइरस संक्रमणको आशंकामा विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा भर्ना गर्न लागिएका एक पुरुषको आज बिहान मृत्यु भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासकाअनुसार उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको मृत्यु भएको हो । मृत्यु भएपछि कोरोना भाइरसको संक्रमण भए/नभएको पुष्टि गर्न स्वाब संकलन गरिएको छ । न्यौपानेलाई बेलकाबाट उपचारका लागि गयराति ल्याएर मोरङ बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पतालमा भर्ना गर्न खोजिएको थियो ।

तर अस्पतालले स्वाबको पीसीआर परीक्षण नगरिएको भन्दै बिरामीलाई लिन अस्वीकार गरेपछि कोशी अस्पताल ल्याइएको थियो । विराट पुर्याउँदा उनलाई १०४ डिग्री ज्वरो पनि थियो । आइसोलेसनमा भर्ना गर्ने तयारी हुँदै गर्दा ती पुरुषको बिहान लगभग १ बजेतिर मृत्यु भएको दासले बताउनु भयो ।

न्यौपानेमा केही दिनअघि जण्डिसको समस्या देखिएको जानकारी परिवारका सदस्यले अस्पताललाई गराएका छन् । यसअघि जण्डिस देखिएको बताइए पनि पुरुषमा ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेका कारण कोरोनाको संक्रमण भएको हुन सक्ने आशंका गरिएको दासको भनाइ छ । उहाँकाअनुुसार मृतक पुरुषको कुनै ‘ट्राभल हिस्ट्री’ भने देखिएको छैन ।

मृतकको स्वाब संकलनको प्रक्रिया अघि बढाइएको बताउँदै दासले स्वाबको पीसीआर परीक्षण गरेर रिपोर्ट आइसकेपछि मात्रै ती पुरुषमा कोरोना भए÷नभएको पुुष्टि हुने जानकारी दिनुभयो । पीसीआर परीक्षण रिपोर्ट आइसकेपछि शव व्यवस्थापनको प्रक्रिया अघि बढाइने उहाँले बताउन भयो ।

हिजो दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वृद्धको शव व्यवस्थापनका लागि नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई जिम्मा लगाउने तयारी भइरहेको डा. दासको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button