Tune to BFM 91.2|Biratnagar

आइसोलेसनमा अमानविय व्यवहार भएको गुनासो

विराटनगर, २१ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचार र निगरानीका लागि राखिएकाहरुले आइसोलेसनमा अमानविय व्यवहार भइरहेको गुनासो गरेका छन् ।

अस्पतालको आइसोलेसनमा अहिले तीन जना राखिएको छ । यस अघि राखिएका ६ जना कोरोना संक्रमण नदेखिएपछि घर फर्किएका छन् । दुई दिनको बसाईपछि आइसोलेसनबाट घर जाने विदा पाएर निस्किएका सप्तरी सुरुङ्गाका २४ वर्षीय एक युवाले त्यहाँको व्यवहार कहालीलाग्दो भएको सुनाए । चैत ७ गते कतारबाट फर्किएका उनी सामान्य ज्वरो देखिएपछि आइसोलेसनमा भर्ना भएका थिए ।

उनको शरीर भरी मच्छरले टोकेका डामहरु थिए । अनुहार सुन्निएको थियो । समस्या ठीक गर्न ल्याएको आइसोलेसनको बसाईपछि स्वास्थ्यमा अरु समस्या थपिएको उनको गुनासो छ । आइसोलेसन बेडमा रातभर मच्छरले टोकेर बस्न सक्ने अवस्था नभएको उनले बताए । उनकाअनुसार भोक र तिर्खा लागेका बेला खान र पानी समेत पाइँदैन । ‘बिहान ७ बजे पानी माग्यो भने दिउँसो ३ बजे ल्याइदिन्थे ।

खानेकुरा पनि कुकुरलाई जस्तो परैबाट फ्यालिदिन्थे,’ उनले भने, ‘कोही छेउ नपर्ने र रेखदेख गर्न पनि कोही आउँदैन थिए । आइसोलेसनमा साह्रै अमानविय व्यवहार भयो ।’ विश्वभर कोरोना भाइरसको त्रास फैलिएका बेला बिरामीलाई उपचार गराउनका लागि भनेर तयार पारिएको आइसोलेसन वार्ड भित्र यातनास्थलमा जस्तो व्यवहार भएको गुनासो उनको छ ।

उनले स्वाब परीक्षणका लागि नमुना संकलन गर्दा चिकित्सक छेउमा आए पनि त्यस बाहेक चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले नदेखेको बताए । कोशी अस्पतालमा मात्रै हैन मोरङमा आइसोलेसन भनेर तयार गरिएका सबै वार्डको अवस्था उस्तै रहेको उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलको भनाइ छ ।

मोरङमा पथरीशनिश्चरेमा १०, सुन्दरहरैंचा नगरपालिकामा दुई, ग्रामथान गाउँपालिकामा चार, गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यायमा १५, मंगलबारे अस्पतालमा १५, कोशी अस्पतालमा छ वटा, हाम्रो अस्पतालमा पाँच, सुरक्षा अस्पतालमा पाँच र विराट नर्सिङ होममा १२ वटा गरेर ८४ वटा आइसोलेसन बेड तयार गरिएका छन् ।

ढुंगेलले कोरोनाको आशंकामा आइसोलेसनमा राख्ने नाममा मान्छेलाई अनआवश्यक दुःख दिने र अप्ठेरोमा पार्ने काम भइरहेको बताउनु भयो । मानव अधिकारका कुरा पनि जोडिने भएकाले आइसोलेसनमा राज्यले तोकेको न्यूनतम मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध गराउनै पर्ने ढुंगेलको भनाइ छ । उपचार गराउने नाममा आइसोलेसन भन्दै बन्धक बनाएर मानसिक यातना दिँदै मान्छेमा थप समस्या निम्त्याउने गतिविधी भइरहेको उहाँले बताउनु भयो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयको निगरानी प्रतिवेदन तथा अनुगमन समितिका संयोजक एवं स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले एक सय दशमलव ४ डिग्री भन्दामाथि ज्वरो आएका, थकाई लागिरहने लगायत कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिने बताउनु भयो । त्यसपछि परीक्षणबाट मात्रै उनीहरुमा कोरोना भए नभएको पुष्टि हुने र उपचार पनि थालिने उहाँको भनाइ छ ।

उहाँकाअनुसार फण्ट लाइनटमा स्वास्थ्यकर्मीको ड्युटी डेक्स हुनु पर्ने, एउटादेखि अर्को बेडको दूरी दुई मिटर, भिन्दाभिन्दै बिरामीलाई राख्न छुट्टाछुट्टै बेड, प्रत्येकलाई छुट्टै बाथरुम, सौचालय, साबुन र सेनिटाइजरको व्यवस्था, खाना, पानी र सुरक्षाको उचित प्रबन्ध एवं उपचार र ल्याब परीक्षणको व्यवस्था आइसोलेनसको मापदण्डभित्र पर्छन् ।

तर मापदण्डअनुसार आइसोलेसन सञ्चालन नभएको गुनासो आएकाले तत्काल अनुगमन गरिने उहाँको भनाइ छ । अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले भने गैरजिम्मेवारीपूर्ण जवाफ दिनु भयो । ‘मेरो घरमा पनि मच्छर छ । मलाई पनि टोक्छ, मैले के गरौं ?,’ उहाँले भन्नु भयो । डा. मिश्राले कोही कसैको सहयोग नपाएको अवस्थामा आइसोलेसनलाई व्यवस्थित गर्ने प्रयास भइरहँदा नकारात्मक टिकाटिप्पणी भइरहेको भन्दै आक्रोस पोख्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button