Tune to BFM 91.2|Biratnagar

आइसोलेसनमा मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ

विराटनगर, ६ भदौ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

ज्वरो आउने, खोकी लाग्ने र छात्ती दुख्ने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएको भन्दै ५० वर्षीय दीपक शेर्पालाई बिहीबारराति अस्पतालकै आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा आइसोलेसनमै हिजो बिहान मृत्यु भएको हो । धनकुटाको भीरगाउँ घर बताउने शेर्पा मोरङको पथरीशनिश्चरेमा ज्यालामजदुरी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । पथरीशनिश्चरे नगरपालिका–१ स्थित सडकमा छटपटाइरहेको बेला उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि कोशी अस्पताल ल्याएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गरीले खुट्टामा समस्या रहेको र ज्वरो आउने गरेको बताएका पुरुषलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल लगिएको बताउनुभयो । प्रहरीले उद्धार गर्ने क्रममा आफ्नो नाम बताए पनि स्पष्ट ठेगाना भन्न नपाउँदै शेर्पालाई बिरामले च्यापेको थियो ।

तर अस्पतालमा कोरोनाको आशंका गर्दै आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका उनको मृत्यु भएको हो । उनको मृत्युपछि स्वाब संकलन गरेर कोशीकै प्रयोगशालामा पीसीआर परीक्षण गरिए पनि रिपोर्ट शुक्रबार साँझ नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताउनु भयो ।

रिपोर्ट नेगेटिभ आएपछि शवलाई कोशी अस्पतालकै शव गृहमा राखिएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएका उनको मृत्यु के कारणले भएको हो भन्ने यकिन हुन नसकेको र कोरोनाको तनावले त्यसतर्फ ध्यान पनि दिन नपाइएको डा. दासले बताउनु भयो ।

पथरीशनिश्चरेमा बेवारिसे अवस्थामा भेटेर प्रहरीले उपचारका लागि ल्याएका पुरुषको मृत्यु भई सक्दा पनि कोही आफन्त र परिवारका सदस्य सम्पर्कमा आएका छैनन् । अस्पताल र प्रहरीले मृतकले दिएको ठेगानाका आधारमा आफन्त एवं परिवारका सदस्यको खोजी गरिरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले शव जिम्मा लिने गरी कोही पनि सम्पर्कमा नआएमा विराटनगर महानगरपालिकासँग समन्वय गर्दै बेवारिसे बनाएर व्यवस्थापन गर्नुको विकल्प नहुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button