आगोले गम्भीर घाइते महिलाको उद्धार

0
133

विराटनगर, २५ पुस । आगलागीबाट गम्भीर घाइते भएकी मुसहर समुदायकी एक महिलालाई मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट आज बिहान उद्धार गरिएको छ । पथरीशनिश्चरे–६ मुसहर बस्तीकी ५२ वर्षीय खिरोदेवी ऋषिदेवलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको हो । वडा अध्यक्ष जयबहादुर तामाङ र नगर स्वास्थ्य संयोजक मुरारी आचार्यको पहलमा ऋषिदेवको उद्धार गरिएको हो । वडा अध्यक्ष तामाङले गत बुधबारराति १२ बजे घरमै सुतिरहेका बेला उज्यालोका लागि टुकीबाट लगाएका कपडा हुँदै शरीरमा सल्किएको आगोले महिला गम्भीर घाइते भएको बताउनु भयो । सुतेपछि टुकी निभाउन विर्सदा शरीरको कपडा त्यहाँ परेकाले घटना भएको उहाँको भनाइ छ । निभाउन नसक्दा चिच्याउँदै घर बाहिर निस्किएकी महिलाको शरीरमा बलिरहेको आगो छरछिमेकी भेला भएर निभाइदिएका थिए । आगोले शरीरका अधिकांश भाग जलेका कारण अवस्था गम्भीर रहेको र उपचार सम्भव हुन निक्कै मुस्किल पर्ने आचार्यले बताउनु भयो । उहाँकाअनुसार आगोले शरीर जले पनि आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराइकन पीडा खपेर घरमै बसेको पाइएपछि ऋषिदेवलाई उद्धार गरेर उपचारका पठाइएको हो । उपचारमा वडा कार्यालयले पाँच हजार रुपैयाँ सहयोग पनि गरेको छ । पथरीशनिश्चरेबाट उपचारका लागि विराटनगरसम्म ल्याउन नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरिदियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here