आजमात्रै ११ जनामा संक्रमण , नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो
काठमाडौं, ३ जेठ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ जना महिला रहेका छन् । आजमात्रै अहिलेसम्म ११ जनामा संक्रमण देखिएको छ ।
पछिल्लोपटक महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष थपिएसँगै संक्रमित को संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा आज बोल्दै प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नम्बर–२ र प्रदेश नम्बर–५ मा समान १०९ जनामा संक्रमण भएको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ‘पीसीआर’ विधिबाट २६ हजार ६९१ तथा ‘आरडीटी’ विधिबाट ६५ हजार ७४९ ओटा परीक्षण भएका छन् ।२४ घन्टामा पीसीआर विधिबाट तीन हजार ५७९ ओटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १६ हजार ३६६ जना ‘क्वारेन्टाइन’मा रहेका छन् । ३२० जना ‘आइसोलेसन’मा रहेका छन् ।काठमाडौं उपत्यकाभित्र ३२ जना आइसोलेसनमा रहेका छन् । यो अहिलेसम्मकै बढी संख्या हो ।
अहिलेसम्म संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।यसैबीच, सिन्धुपाल्चोककी सुत्केरीको मृत्यु कोरोना संक्रमणबाट हो कि हैन भनी पुष्टि गर्नेक्रममा रहेको प्रवक्ता देवकोटाले बताउनुभएको छ ।