आज ओलीको महत्त्वपूर्ण भेटवार्ता

0
239

काठमाडौ, २४ चैत । भारतको तीनदिने औपचारिक भ्रमणको क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज महत्त्वपूर्ण राजनीतिक भेटवार्ता गर्दैछन् ।प्रधानमन्त्री ओलीले अहिले ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरमोनियल रिसेप्सनमा सहभागी हुनेछन् ।त्यसपछि उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । राष्ट्रपतिसँगको भेटपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँग भेटवार्ता गर्ने तय भएको छ ।आज बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर प्रधानमन्त्री ओलीले माल्यार्पण गर्नेछन् ।साढे ११ बजे हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने तय भएको छ ।मोदीसँग आज औपचारिक भेटवार्ता तय भए पनि मोदीले शुक्रबार साँझ नै ओलीसँग करिब डेढ घण्टा ‘वान टु वान’ वार्ता गरेका थिए । सो वार्तापछि ओलीले नेपाल–भारतबीच असमझदारी हटिसकेको बताए भने मोदीले आफू प्रशन्न भएको प्रतिक्रिया सार्वजनिक गरे ।आज भने ओली र मोदीबीच प्रतिनिधिमण्डस्तरीय मुख्य वार्ता हुनेछ जसमा दुईपक्षीय सहयोगका विषयमा पनि छलफल हुनेछ ।त्यसपछि सवा १२ बजे ओली र मोदीले संयुक्त रुपमा रिमोटमार्फत वीरगञ्जस्थित एकीकृत जाँच चौकीको उदघाटन गर्नेछन् ।
सोही समयमा अरुण तेस्रो जलविद्युत आयोजनाको पनि संयुक्तरुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।सो कार्यक्रमलगत्तै दुई देशका उच्च अधिकारीहरुको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरी सहमति वा समझादारीहरु सार्वजनिक गरिनेछ । पत्रकार सम्मेलनपछि भारतीय उपराष्ट्रपति, गृहमन्त्रीलगायतसँग शिष्टाचार भेटवार्ताको समय निर्धारण गरिएको छ ।यसैगरी आज साँझ नै प्रधानमन्त्री ओलीलाई इण्डिया फाउन्डेसनको कार्यक्रममा नागरिक अभिनन्दन गर्ने र सो कार्यक्रमलाई सम्वोधन गर्ने तय भएको छ ।भोली भने ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको अवलोकन भ्रमणमा जानेछन् जहाँ ओलीलाई विश्वविद्यालयले विद्यावारिधीको मानार्थ उपाधिले विभूषित गर्नेछ । ओली भोली साँझ नै स्वदेश फर्किने छन् ।५४ सदस्यीय टोलीको नेतृत्व गर्दै ओली शुक्रबार भारत भ्रमणका लागि नयाँदिल्ली गएका थिए ।
…………….

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here