आज तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

0
184

बिराटनगर ३ मंसिर आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ ।असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनु हुने भएकाले कात्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्दछन् ।हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ ।तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरु बताउँछन् ।तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिंगो गाडेर विधिपूर्वक पूजा गरिन्छ ।कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ ।तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ ।आजको दिन अन्न खान नहुने मान्यता रहेकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ ।यसरी व्रत गरेमा पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।आज काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेष नारायण, इचङ्गुनारायण र विशङ्गुनारायण स्थानमा विशेष मेला लागेको छ ।यहाँ जान नसक्नेले बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।आज देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइँदै छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here