Tune to BFM 91.2|Biratnagar

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १० बजेर १९ मिनेटमा

विराटनगर १० कार्तिक । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाले बताउनुभयो । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ ।असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वद्र्धन गर्न आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैं मनाउन आग्रह गर्नुभएको छ ।‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महान चाड बडादशैंका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गर्नुभएको छ ।औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइन भन्दै प्रधानमन्त्री ओलीले यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वलाई मितव्ययी बनाउन आह्वान गर्नुभएको छ ।

यसैवीच विराट श्री मिडिया प्रालि(वीएफएम) का अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले विजयादशमीको अवसरमा शुभकामना दिनुहुँदै सम्पूर्ण नेपालीको सुख शान्ति र उन्नतीको कामना गर्नु भएको छ । यसैबिच वि एफएम का कार्यकारी निर्देशक डाक्टर सन्देश दास श्रेष्ठले शुभकामना सन्देश दिनुहुदै नेपालीहरुको महान् चाड बडा दशैं –२०७७ का अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button