आज धान्य पूर्णिमा विभिन्न जातिका पर्वहरु
विराटनगर, १५ पुस । आज मंसिर पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् । आज सुदूरपूर्वका किरातदेखि कर्णाली प्रदेशको विकट क्षेत्रका बासिन्दाले समेत एकैदिन आ–आफ्ना पर्वहरु मनाउँदैछन् ।
सामान्यतया मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो ।आजकै दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने गर्छन् ।
प्रकृतिपूजक किरातहरूले यही दिनलाई उधौली पर्वका रुपमा मान्ने गर्छन् भने पहाडी भेगका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुल पूजा गर्छन् ।त्यसैगरी तिथिको साटो गते अनुसार हरेक वर्ष पुस १५ मा पर्ने गुरुङ जातिको ल्होछार पर्व आजकै दिन परेको छ ।
समग्रमा भन्दा यो वर्षको पुस १५ विविध सांस्कृतिक पर्वहरूको संगम बनेको छ ।ज्योतिषीय हिसाबले मंसिर पूर्णिमाको त्यति धेरै महत्व रहेको पाइँदैन । तर, सूर्य दक्षिणायनबाट उत्तरायणोन्मुख रहेकाले यही दिनदेखि दिन लामो र रात छोटो हुन्छ भन्ने तर्कको ज्योतिषीय आधार रहेको पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराइले बताउनुभयो।