Tune to BFM 91.2|Biratnagar

आदिवासी जनजातिमा सूचीकृत हुन १४ वर्षदेखि आन्दोलनरत

विराटनगर, ६ फागुन । विराट राजवंशी समुदायले आदिवासीमा सूचीकृत हुन आन्दोलन शुरु गरेको १४ वर्ष वितेको छ । तर, राज्यबाट अहिले सम्म माग संवोधन हुन नसकेको उनीहरुको गुनासो छ । राज्यले १२५ जातजातिलाई सूचीकृत गरेपनि विराट राजवंशीलाई सूचीकृत गर्न राज्यले अहिलेसम्म चासो नदेखाएको उनीहरुको गुनासो छ ।

राजवंशी समाज उत्थान समिति (विराट) का अध्यक्ष भुवनेश्वर मण्डल विराट राजवंशीले २०६३ देखि निरन्तर सूचीकृतका लागि आन्दोलन गरेपनि सुनुवाई हुन सकेको बताउनुभयो । आन्दोलन शुरु गरेको १४ वर्ष पुगेको दिनको स्मरण गर्दै विहिबार विराटनगरमा आयोजित बृहत भेलामा मण्डलले विराट राजवंशीको अलग्गै धर्म, भाषा र पहिचान भएपनि राज्यले संवोधन नगरेको उनको भनाई छ । उहाँले विराट राजवंशीलाई आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।

विराट राजवंशीका अगुवा कुशेश्वर राजवंशीले १४ वर्षदेखि आन्दोलन गर्दापनि राज्यले नसुनेको बताउनुभयो । १२५ जातजातिलाई समावेश गर्न सक्ने सरकारले विराट राजवंशीलाई वेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले सूचीकृत नहुँदा भाषा, संस्कृतिको जगेर्ना गर्न समस्या भएको बताउनुभयो ।

विराट राजवंशी समुदायका अगुवाहरु राजकुमार राजवंशी, कला राजवंशी, बुधनारायण मण्डल लगायतले आदिवासीमा सूचीकृत गरि माग संवोधनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले विराट राजवंशीको माग संवोधन गर्न तयार गरेको बताउनुभयो । सरकारले १२७ जातजातिलाई सूचीकृत गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । मन्त्री ढकालले भन्नुभयोे,‘ १२७ जाजजातिको सूचीकृत गर्ने तयारी थियो, विराट राजवंशीलाई थपेर १२८ पुर्याउने छौं ।’

राज्यका तर्फबाट उचित संवोधन गर्ने उनले आश्वासन दिनुभयो । मन्त्री ढकालले जातजातिको दर्ता संघिय मामिला मन्त्रालयले गर्ने भएकाले काठमाण्डौं फर्किए लगत्तै दर्ता प्रकृयाका लागि पहल गर्ने बताउनुभयो । झापा, मोरंग र सुनसरीमा उनीहरुको बढी बसोबास छ । तीन जिल्लामा करिव १ लाख बढी विराट राजवंशी रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button