Tune to BFM 91.2|Biratnagar

आधा घण्टाभित्र विराटनगरमा तीन सङ्क्रमितको मृत्यु, हृदयघातका कारण गयो एक जनाको ज्यान

विराटनगर, १८ वैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस सङ्क्रमित तीन जना पुुरुषको आज बिहान मृत्यु भएको छ । तीनै जनाको मृत्यु आधा घण्टाभित्रमा भएको हो । मृत्यु हुनेमध्ये एक जना प्रदेश १ को राजधानी विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन् । उपचारका लागि भर्ना भएका कोरोना सङ्क्रमितमध्ये एक जनाको हृदयघातका कारण ज्यान गएको छ । विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ः५० बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो ।

उहाँका कोरोना सङ्क्रमित पुरुषमा एक्कासि हृदयघातको समस्या पनि थपियो । अचानक हृदयघात भएपछि थप उपचार गर्न नपाउँदै मृत्यु भएको दाहालको भनाइ छ । मृतक पुरुषको कोसी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेका उनी होम आइसोलेसनमा रहेका थिए । तर श्वासप्रश्वासमा अचानक समस्या भएपछि उपचारका लागि हिजो बिहान ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो । यसैबीच सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको बिहान ५ः४५ बजेतिर मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि हिजो दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएका सङ्क्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको दाहालले बताउनु भयो । त्यस्तै नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का सङ्क्रमितको पनि बिहान ६ः१५ बजेतिर मृत्यु भएको छ । महोत्तरीको महत्तरी–६ का ३५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि हिजो दिउँसो अस्पताल भर्ना गरिएको दाहालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button