आमचासोका विषय ओझेलमा

0
97

काठमाण्डौ १८ साउन ।संसदीय छानबिन समिति गठन गर्ने विषयमा संघीय संसदमा सत्ता र विपक्षी दलबीच दाउपेच चलिरहेको छ । गएको असार ५ गते सर्लाहीमा कुमार पौडेलको ‘हत्या’ र असार १४ गते सर्लाहीमै प्रहरीको गोली लागि मृत्यु भएका भनिएका सरोजनारायण सिंहको मृत्यबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गर्नुपर्ने विपक्षीको अडान र गठन गर्नु नपर्ने सत्तापक्षको अडानले प्रतिनिधिसभा लगातार अवरुद्ध भइरहेको छ । संसदीय समिति गठनको दाउपेचले सदन अवरुद्ध हुँदा जनचासोका विषय भने ओझेलमा परेका छन् । सर्लाहीमा भएका ‘हत्या’का दुई घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापाले असार २३ गते नै सदनलाई जानकारी गराइसकेका छन् । तर, गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र घटनाको सत्यतथ्य छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नैपर्ने माग राख्दै विपक्षी दल नेपाली कांग्रेस र राजपाले निरन्तर संसद अवरोध गर्दै आएका छन् । यसबीचमा मध्य तथा पूर्वी तराईका जिल्लाहरुमा आएको बाढी तथा डुबानका सम्बन्धमा कांग्रेस र राजपाले संसदमा दर्ता गरेको अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफलका लागि एक दिन सदन सुचारु भएपनि निरन्तर तीन हप्ता संसद अवरुद्ध भइसकेको छ । सत्तापक्ष र प्रतिपक्षले सर्लाही घटनाको छानबिनका लागि विशेष समिति गठन गर्ने कि नगर्ने भन्ने विषयलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । सत्तापक्षले घटनाबारे गृहमन्त्रीले जवाफ दिइसकेको, संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको र विषयगत समिति हुँदाहुँदै छुट्टै संसदीय समितिको आवश्यकता नरहने जिकिर गर्दै आएको छ । घटनालगत्तै प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here