Tune to BFM 91.2|Biratnagar

आरडिटी रोक्न काँग्रेसको माग

विराटनगर, १८ वैशाख । नेपाली काँग्रेस १ नंं. प्रदेशसभा संसदीय दलले कोरोना पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रोक्न माग गरेको छ । आज बसेको काँग्रेस संसदीय दलको बैठकले आरडिटीको नतिजा विश्वसनीय नदेखिएको र त्यसले गर्दा झनै संक्रमण फैलने जोखिम देखिएकोले आरडिटी रोक्न माग गरेको हो ।

पार्टी संसदीय दलका नेता राजिब कोइरालाको अध्यक्षतामा बसेको बैठकले आरडीटी रोकेर शंकास्पद सबैको व्यक्तिहरुको पीसीआर बिधिबाट परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । उदयपुरको त्रियुगा ३ भुल्केका संक्रमितहरुको सम्पर्कमा आएका सबैको पीसीआर परीक्षण गर्न तथा उदयपुरमा कोरोना उपचार केन्द्र स्थापना गर्नसमेत बैठकले माग गरेको पार्टीका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिनुभयो ।

बैठकले पूर्वबजेट तयारी तथा छलफलको लागि बजेट अधिवेशन शुरु गर्नसमेत माग गरेको छ । व्यक्ति व्यक्तिबीचको दूरी कायम गर्दै प्रदेशसभाको बजेट अधिवेशन सञ्चालन गर्नुपर्ने काँग्रेसको भनाइ छ ।

बैठकले राहत वितरण गर्न प्रदेश सरकारले एकद्वार नीति अवलम्बन गरेको भनिएपनि मन्त्रीहरुले नै उल्लंघन गरेको भन्दै काँग्रेसले राहत कोषमा जम्मा भएको नगद तथा जिन्सीको विवरण, स्वास्थ्य सामग्री खरिदको खर्च र समग्र वितरण प्रक्रिया पारदर्शी बनाउन माग गरेको छ ।

दैनिक ज्याला मजदुरी गर्ने, किसान, निम्न मध्यम वर्गीय, मध्यम वर्गीय परिवार, उद्योगी व्यवसायीहरुसमेत कोरोना भाईरसबाट प्रभावित भएकोले एकमुष्ठ राहतको प्याकेज घोषणा गर्नुपर्ने काँग्रेसको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button