Tune to BFM 91.2|Biratnagar

आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने

विराटनगर, २१ वैशाख । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताउनु भएको छ ।

यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको भन्दै मन्त्री घिमिरेले आगामी आर्थिक वर्षको वजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने बताउनुभयो । बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको भन्दै उहाँले आगामी आर्थिक वर्षको वजेटले स्वास्थ्य र शिक्षालाई बढी जोड दिने बताउनुभयो ।

विश्वभर फैलिएको कोरोना भाईरसले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने देखाएको उहाँले बताउनुभयो । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको अनलाईन पत्रकार सम्मेलन तथा अन्र्तक्रीया कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ यसअघिका बजेट ५१ प्रतिशत भौतिक पूर्वाधारमा हुने गरे पनि अव त्यसो हुँदैन ।

’ आगामी वैशाख २५ गते सम्मको लकडाउन पछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने मन्त्री घिमिरेले बताउनुभयो । लकडाउनपछि शिक्षण संस्था सञ्चालनबारे विज्ञसँग परामर्श भईरहेको उहाँले बताउनुभयो । शिक्षण संस्था सामाजिक दुरी कायम गरि पठन पाठन गराउन सक्ने अवस्थाका नभएकाले कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भईरहेको मन्त्री घिमिरेले बताउनुभयो ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसईई परीक्षा सञ्चालनबारे पनि छलफल भईरहेको उहाँले बताउनुभयो । परीक्षा केन्द्रको दायरा बढाएर दुरी कायम गरि परीक्षा सञ्चालन गरिने मन्त्री घिमिरेले बताउनुभयो ।

प्रदेश १ का विद्यालयलाई प्रविधि मैत्री बनाईने उहाँले बताउनुभयो । प्रदेशका ग्रामिण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन भईरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ इन्टरनेटको पहुँच नपुगेका स्थानमा पहुँच पुर्याउने प्रवन्ध गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button