Tune to BFM 91.2|Biratnagar

नियमनकारी निकायद्धारा बिभिन्न फर्मको अनुगमनम

विराटनगर १० साउन । पछिल्लो समय नियमनकारी निकायले बजार, उद्योग, पसलहरुको अनुगमनलाई तीव्रता दिएका छन् । अनुगमन वर्षमा एक पटक मात्रै हुने गरेपनि अहिले यसले केही गतिशिलता पाएको छ ।

बाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अनुगमनलाई तीव्रता दिएका छन् । बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ मा १ सय ४२ वटा फर्मको अनुगमन गरेको छ ।

अनुगमन गरिएका मध्ये २२ वटा फर्मलाई कारवाही गरिएको कार्यालय प्रमुख हिमालय बरालले बताउनुभयो । औषधि व्यवस्था विभाग शाखा विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा ४ सय ९२ औषधि पसलको अनुगमन गरेको छ ।

त्यस्तै १० वटा उद्योगमा अनुगमन गरेको छ । अनुगमन गरेका मध्ये ९ वटामा मुद्दा दायर गरिएको छ । ११ वटा पसल निलम्बनमा परेका छन । ३६ वटा पसल बन्द गराएको छ । ६० वटा पसल तारिखमा रहेको र १३ वटालाई सचेत गराईएको छ ।

३ वटा सेनिटाईजर उत्पादकलाई बन्द गरिएको कार्यालयका निमित्त प्रमुख सञ्जीव शर्मा कट्टेलले बताउनुभयो । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०७६/७७ मा २० पटक एकल अनुगमन गरेको छ ।

संयुक्त अनुगमन पनि २० पटक भएको गुणस्तर तथा नापतौल कार्यलय विराटनगरका प्रमुख शम्भुकुमार झाले बताउनुभयो । खाद्य ऐन अनुसार आर्थिक वर्ष २०७६/७७ मा २ सय ११ वटा नमुना संकलन गरिएको मध्ये ९ वटा नेपाल सरकारको मापदण्ड विपरित पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ । मुद्धा दायर भएका ९ मध्ये ३ वटामा मुद्धा दायर भएको र अरु अनुसन्धानका क्रममा रहेका छन् ।

डिभिजन कार्यालय झापा, सुनसरी, धनकुटा र उदयपुरबाट संकलित २ सय ३० वटा नमुना मध्ये १९ वटा प्रतिकुल भएको गुण नियन्त्रण कार्यालयले जनाएको छ । धेरै संख्यामा अनुगमन गर्नुपर्ने भएपनि पुनः अनुगमन हुन नसकेको प्रमुख राजकुमार रिजालले बताउनुभयो ।उपभोक्ता संरक्षण ऐन २०७५ लागु भएपछि विगतको तुलनामा बजार अनुगमन प्रभावकारी देखिएको पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुङ्गेले बताउनुभयो ।

स्थानीय तहले उपभोक्ता संरक्षणको विषयलाई गम्भिरता पुर्वक लिन नसकेको उहाँको भनाई छ । वजार अनुगमन अनिवार्य र नियमित हुनुपर्ने कानुनले नै निर्दिष्ट गरेको छ । तर कर्मचारीमा जागिरे मानसिकता कारण कार्यन्वयनमा आउन सकेको छैन् ।

अनुगमनका क्रममा उद्योग तथा पसललाइ दिएको निर्देशन पालना भए नभएको पुनः अनुगमन नै हुदैँन । भएका अनुगमन पनि नाम मात्रैका हुने गरेका छन् । अनुगमनलाई प्रभावकारी बनाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button