Tune to BFM 91.2|Biratnagar

आहा ! रारा गोल्डकपको उपाधि मनाङलाई

विराटनगर १ चैत्र । मनाङ मस्र्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।

उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो ।

टाइब्रेकरमा मनाङ सफल भयो । टाइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे । मनाङका निशान लिम्बुको प्रहार पुलिसका किपर रोशन खड्काले बचाए । पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे । पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका किपर अशोक बरालले बचाए ।

खेल अतिरिक्त समयमा धकेलिनु अघि दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । पहिलो हाफमा पुलिसको तुलनामा मनाङले अवसर पाएको थियो । खेलको ४३ औं मिनेटमा मनाङका विमल रानाको ओभर हेड किक पुलिसका अजित भण्डारीले गोललाइनबाट क्लियर गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले उत्तिकै अवसर खेल फाल्यो ।

खेलको ४८ औं मिनेटमा पुलिसका निर कुमार राईको डिबक्स भित्रको प्रहार मनाङका किपर किशोर गिरिले मुश्किलले बचाए । खेलको ५९ औं मिनेटमा मनाङका अन्जनको ओभर हेड किक बाहिरियो । खेलको ६८ औं मिनेटमा भिदालको पासमा विमलको प्रहार पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।

खेलको ८९ औं मिनेटमा अन्जन बिष्टले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button