Tune to BFM 91.2|Biratnagar

इटहरीका दुई युवा विराटनगरबाट लागुऔषधसहित पक्राउ

विराटनगर, २५ वैशाख । सुनसरीको इटहरीका दुई युवा भारतको जोगवनीदेखि लागुऔषध लिएर आउँदै गर्दा विराटनगरबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१६ मुसहरी टोलबाट इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय असिम बस्नेत र इटहरी–५ का ३२ वर्षीय पोष्टकुमार विश्वकर्मालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार भारतबाट नेपालतिर आउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । को २५ प २५५५ नम्बरको स्कुटरमा सवार रहेका उनीहरुलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कम्मरमाथिको भागमा टेपले बाँधेर ल्याएको अवस्थामा लागुऔषध फेला परेको जानकारी उहाँले दिनु भयो । स्कुटरको पछाडि सवार रहेका विश्वकर्माको शरीरबाट लागुऔषध बरामद भएको पौडेलले बताउनु भयो । उहाँका अनुसार डाइजेल्याब, लुपिजेसिक, फेनारगन र एभिल नामक लागुऔषध ३०÷३० एम्पुल बरामद भएको छ ।

त्यस्तै लागुऔषध डाइलेक्स डीसी र नाइट्रोसन ट्याब्लेट पनि बरामद भएको पौडेलले बताउनु भयो । स्कुटर र लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय रानीले दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कोरोना नियन्त्रणमा सुरक्षाकर्मी व्यस्त रहेको मौका छोपेर लागुऔषधको ओसारपसार लगायतका अरु पनि अवैध गतिविधी गर्ने गिरोह सक्रिय भएको हुनसक्ने बताउनु भयो । यस्तो गिरोहलाई नियन्त्रणमा लिएर नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button