Tune to BFM 91.2|Biratnagar

इलामका दुर्गाप्रसादको उपचार विराट शिक्षणमा सुरु

विराटनगर, २२ चैत । भारतको जेलमा ४० वर्ष बिताएर फर्किएका इलामको माई नगरपालिका–१० का ६० वर्षीय दुर्गाप्रसाद तिम्सिनाको हिजोबाट उपचार सुरु भएको छ । प्रदेश १ सरकारको पहलमा इलामबाट ल्याएर उहाँलाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरियो । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको समन्वयमा उहाँलाई उपचारका लागि दिउँसो २ बजेतिर अस्पतालको मेडिसिन वार्डमा भर्ना गरिएको मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिनु भयो । स्वास्थ्यमा धेरै समस्या देखिएकाले अब उपचार सफल बनाउँदै पूर्ण रुपमा निको पारेर मात्रै घर फर्काइने उहाँको भनाइ छ । अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले दुर्गाप्रसादको उपचार निःशुल्क गर्ने बताउनु भएको छ । उहाँको उपचारमा वरिष्ठ फिजिसियन डा. पुरु कोइराला, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. शिखा उपाध्याय, दन्त रोग विशेषज्ञ डा. मोना पोखरेल लगायतका चिकित्सकको टोली अस्पतालले परिचालन गरेको छ । डा. कोेइरालाका अनुसार दुर्गाप्रसादलाई मानसिकसहित ढाड, पेट र दाँतको पनि समस्या देखिएको छ । पूरै शरीरको परीक्षण थालिएका कारण सबै रिपोर्ट आइसकेपछि मात्रै स्वास्थ्य सम्बन्धी थप समस्याका बारेमा जानकारी हुने उहाँले बताउनु भयो । यातनाका कारण धेरै तनाव बेहोर्नु पर्दा बिरामीमा ‘डिप्रेशन’को समस्या भएको हुनसक्ने उहाँको भनाइ छ । त्यही भएकाले मनोचिकित्सकसँग पनि परामर्श गर्दै थप उपचार थालिएको जानकारी डा. कोइरालाले दिनु भयो । कोइरालाका अनुसार सानो स्वरमा मात्रै बोल्ने दुर्गाप्रसाद बालबालिकाको जस्तो स्वभाव र व्यवहार देखाउनु हुन्छ । उपचारपछि भोलिका दिनमा पनि सजिलो होस् भनेर विभिन्न उपाय लगाउँदै दुर्गाप्रसादलाई सहज बनाउने प्रयास भइरहेको जानकारी उहाँले दिनु भयो । ४० वर्षपछि भारतीय जेलबाट छुट्ु भएका दुर्गाप्रसाद गत चैत ८ गते नेपाल आइपुग्नु भएको हो । उहाँलाई चैत १२ गते जिल्ला प्रशासन कार्यालय इलामले विक्रम संवत २०१७ साउन २० गतेको जन्म मिति राखेर वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ । नागरिकतामा सनाखत गर्नु भएका कान्छो भाइका छोरा गोपाल तिम्सिनाले नै उहाँलाई उपचारका लागि अस्पतालसम्म लिएर आउनु भएको छ । भारतको दार्जिलिङबाट हत्या अभियोगमा पक्राउ पर्नु भएका उहाँलाई जेल प्रशासनको कमजोरीमा बिना सुनुवाई भारतका विभिन्न जेलमा पुर्याइएको थियो । भारतीय अदालतले केही दिनअघि स्वास्थ्य अवस्थाको कारण देखाउँदै ६÷६ महिनामा उपस्थित हुने गरी छाड्न आदेश दिएपछि दुर्गाप्रसाद जेलमुक्त बनेर नेपाल फर्किन सक्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button