Tune to BFM 91.2|Biratnagar

उच्च बार विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन

विराटनगर, १४ फागुन । उच्च अदालत बार एकाई विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन भएको छ । अध्यक्षसहित अन्य पदमा दाबी गरेकाहरुले उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमिति चयन निर्विरोध भएको हो । बारको नयाँ अध्यक्षमा अधिवक्ता नारायणप्रसाद दाहाल चयन हुनु भएको छ । अध्यक्षमा दाबी गर्नु भएका हरिबहादुर बराल उम्मेदवारी फिर्ता लिएर दाहाललाई निर्विरोध नेतृत्व सुम्पिन तयार हुनु भएको हो ।

अध्यक्षका प्रत्यासी बरालले उम्मेदवारी फिर्ता लिएपछि बिना निर्वाचन दाहाल अध्यक्षको जिम्मेवारी पाउन सफल हुनु भयो । उच्च अदालत बार एकाई विराटनगरको १३ औँ कार्यसमितिका लागि मनोनयन दर्ता गराएका दाहाल र बराल दुवै जना सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह निकट मानिनु हुन्छ । बरालले हिजो उम्मेदवारी फिर्ता लिएर दाहाललाई नेतृत्व सुम्पिएपछि निर्वाचन समितिले नयाँ कार्यसमिति निर्विरोध भएको घोषणा गरेको छ ।

नयाँ कार्यसमितिका लागि पदाधिकारी र सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । बारको उपाध्यक्षमा अधिवक्ता अनिल खड्का, सचिवमा प्रेमकुमार घिमिरे, सहसचिवमा कला त्रिताल र कोषाध्यक्षमा महेशकुमार खड्का चयन हुनु भएको छ । सदस्यहरूमा अधिवक्ता विनोदकुमार तिमल्सिना, यागेन्द्र काफ्ले, पुरुषोत्तम दाहाल, मोहनप्रसाद ओझा, दीपककुमार बुढाथोकी, माया अधिकारी, सागर घिमिरे र मयुर अग्रवाल पनि निर्विरोध चयन हुनु भएको छ ।

केन्द्रीय पार्षदमा चण्डीप्रसाद पराजुली, राजेन्द्रकुमार सुनार र कुवेर कार्की निर्वाचित चयन भएको निर्वाचन समिति संयोजक कुमार भट्टराईले जानकारी दिनु भयो । बारको निर्वाचित नेतृत्वको घोषणा फागुन १५ गते गरिने भएको छ । उम्मेदवारी दर्ता गराउनु भएका नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूह निकट रुक्मिणी दाहाल र सदस्यमा सन्निकुमार साहले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमिति चयन बिना निर्वाचन सम्भव भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button