उदयपुरका दुई युवा विराटनगरबाट लागुऔषधसहित पक्राउ
विराटनगर, १६ पुस । उदयपुरका दुई युवा नेपाल–भारत सीमा क्षेत्र विराटनगरको मटेरुवाबाट लागुऔषधसहित पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ वर्षीय सुरेन्द्र बस्नेत र १९ वर्षीय अनिष अधिकारी विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट हिजो साँझ पक्राउ परेका हुन् ।
भारतबाट लागुऔषध बोकेर फर्कदै गरेका उनीहरुलाई नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । शंकास्पद रुपमा भारततिरबाट आउँदै गरेका दुवै जनालाई रोकेर चेकजाँच गर्दा साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट एभिल, लुपिजेसिक र डाइजेल्याब गरेर तीन एम्पुल तथा एक सय पाँच ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ । पक्राउ परेका बस्नेत र अधिकारीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज म्याद गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।