Tune to BFM 91.2|Biratnagar

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका

बिराटनगर ९ वैशाख । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको हो ।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।पोजेटिभ देखिएका नमूनालाई थप परीक्षणका लागि सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो ।संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोशी अस्पताल विराटनगर ल्याइएको थियो ।

उनीहरु मध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको बताइएको छ ।यसअघि कोरोना संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।नेपालमा हालसम्म ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ४ जना निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button