Tune to BFM 91.2|Biratnagar

उदयपुरमा पछिल्लो १०५ जनाको रिपोर्ट नेगेटिभ

विराटनगर, १३ वैशाख । कोरोना भाइरसको संक्रमण व्यापाक देखिएको उदयपुरमा पछिल्लो पटक संकलन गरेको २० स्वास्थ्यकर्मीसहित १०५ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

पछिल्लो पटक संकलन गरिएको चौदण्डीगढी नगरपालिका ५ सिबाईका ५८, त्रियुगा नगरपालिका १ मोथियाईका २७ र २० स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । प्रदेश जनस्वास्थ्यको टोलीले बिहीबार सिबाई र मोथियाईवासीको स्वाब संकलन गरेको थियो ।

शुक्रबार उनीहरुको स्वाब विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । अघिल्लो शुक्रबार र शनिबार उदयपुरको नुरी मस्जिदमा बसेका १२ भारतीय र चार नेपालमा कोरोना पुष्टि भएको थियो ।

त्यसपछिको परीक्षणमा मस्जिद आसपासका थप १२ जनामा पनि कोरोना देखिएको थियो । सरकारले कोरोनाको स्रोत पहिचान गर्न मस्जिदमा रहेका जमाती बसेको सिबाई र मोथियाई क्षेत्रको स्वाब संकलन गरेकोमा नेगेटिभ आएको हो । यो रिपोर्टसँगै मस्जिदमा रहेका भारतीय जमातीबाट कोरोना नभित्रिएको ठहर प्रदेश सरकारले गरेको छ ।

सरकारले भुल्के बस्तीमा भारत र दुबईबाट आएका तीन युवामध्येबाट कोरोना भित्रिएको निश्कर्षसहित सरकारले अध्ययन गरिरहेको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश १ मा परीक्षणको दर बढाइएको छ ।

प्रदेश सरकारका अनुसार शुक्रबारसम्म कुल ५ हजार ६६ जनाको कोरोना परीक्षण गरिएकोमा पीसीआर विधिबाट ९ सय ६ जनाको परीक्षण गर्दा उदयपुरमा २८, भोजपुरमा १ र झापाको १ जनामा कोरोना देखिएको छ ।

प्रदेशमा ४ हजार १ सय ६० जनाको र्यापिड टेष्ट किटबाट परीक्षण गरिएको छ । प्रदेशमा बिराटनगरको कोशी अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार गरिएका ल्याबबाट दैनिक १ सय १२ जनाको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

कोशीमा दैनिक १ सय र प्रतिष्ठानको ल्याबबाट दैनिक १२ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । प्रदेश १ मा कोरोना संक्रमितको उपचारको लागि विराटनगरमा ७५ बेडको कोभिड १९ उपचार केन्द्र सञ्चालनमा आएको छ । कोशी अस्पताल मातहत रहनेगरी प्रदेश सरकारले सञ्चालन गरेको अस्पताललाई सय बेडको बनाउने काम भइरहेको छ ।

उता धरान स्थित बीपी प्रतिष्ठानमा तत्काल थप सय बेडको कोरोना विषेश अस्पताल बनाउने काम भइरहेको छ । प्रतिष्ठानको पुनःस्थापना केन्द्रलाई विषेश कोराना अस्पताल बनाउने तयारीका साथ काम अघि बढाइएको हो । प्रतिष्ठानको कोरोना विषेश अस्पताल एक साताभित्र सञ्चालनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button