Tune to BFM 91.2|Biratnagar

उदयपुर र जनकपुरमा थपिए दुई जना कोरोना संक्रमित

विराटनगर, ११ वैशाख । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उदयपुर र जनकपुरमा एक/एक जना संक्रमित फेला परेका हुन ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा संक्रमित थपिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार उदयपुरका ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय एक किशोरमा संक्रमण पोजेटिभ भेटिएको हो । यो सँगै नेपालमा पहिचान भएका कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । सबैभन्दा बढी उदयपुरमा मात्रै २८ जना कोरोना संक्रमित फेला परिसकेका छन ।

यस्तै, पाटन अस्पतालमा उपचारमा रहेका ८१ वर्षीया आमा र ५८ वर्षीय छोरा पूर्णरुपमा निको भइ ‘डिस्चार्ज’ भएका छन् । बेलायतबाट आइ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरुलाई गत साता अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा हालसम्म ९ जना कोरोनाभाइरसमुक्त भइ घर फर्किएका छन् भने काठमाडौंका विभिन्न अस्पतालमा उपचारमा रहेका सबै बिरामी पूर्णरुपमा स्वस्थ भएका छन् ।

उपत्यकाबाहिर विभिन्न अस्पतालमा ३८ जना उपचारमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । देशभर ‘पीसीआर’ र ‘आरडीटी’ गरी ४३ हजार ७२२ जनाको स्वास्थ्य परीक्षण भएको पनि उनले जानकारी दिए । पत्रकार सम्मेलनमा राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले ‘लकडाउन’को समयमा पनि अन्य उपचारको क्रम जारी रहेको जानकारी दिनुभयो ।

हालसम्म एक महिनाभित्र ८६१ जना चोटपटक लागेका बिरामीको उपचार गरेको र कोरोनाभाइरसका बिरामीका लागि सातओटा भेन्टिलेटर तथा ‘आइसीयु’कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए । हाल देशभर १० हजार ५७३ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने ८६ जना ‘आइसोलेसन’कक्षमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button