उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को साधारणसभा स्थगित
विराटनगर, १० पुस । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को पौष ११ गते हुने भनिएको साधारणसभा तथा निर्वाचन स्थगित भएको छ ।उच्च अदालत विराटनगरले निषेधाज्ञायुक्त परमादेश जारी गरेपछि निर्वाचन स्थगित भएको हो ।
साधारणसभाबाट कार्यकारिणी समितिमा अध्यक्षसहित १३ जना चयन गर्ने कार्यक्रम थियो । तर अदालतको आदेशानुसार निर्वाचन स्थगित भएको हो । महासंघको सदस्यता सम्बन्धी विवाद नमिल्दा गर्ग प्रिन्टर्सले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।अदालतले आज निवेदकको पक्षमा अन्तरिम आदेश जारी गर्दै पौष १४ गतेको तारेख तोकी विपक्षीलाई छलफलका लागी बोलाएको छ । ‘
निर्वाचनको तयारी पूरा भएर पहाडी जिल्लाका प्रतिनिधि आईसकेपछि अदालतले महासंघका नाममा आज निषेधाज्ञायुक्त परमादेश जारी गरेसँगै निर्वाचन स्थगित भएको हो ।अदालतका न्यायाधीश राजनप्रसाद भट्टराईको इजलासले शुक्रबार जारी गरेको परमादेशका कारण भोली हुने महासंघ प्रदेश नम्बर १ को नेतृत्वका लागि हुने निर्वाचन स्थगित गरिएको छ ।
महासंघको प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्काले अदालतको आदेशका कारण पूर्वघोषित साधारणसभा र निर्वाचनका सबै कार्यक्रम हाललाई स्थगित गरिएको बताउनुभयो ।