Tune to BFM 91.2|Biratnagar

उपचारका क्रममा मृत्यु भएका युवाका आफन्त भेटिएनन्

विराटनगर, १२ असोज । विराटनगरमा बेहोस अवस्थामा भेटिएसँगै उपचार सुरु गरिएपछि मृत्यु भएका एक युवाको आफन्त र परिवारका सदस्य पत्ता लगाउन प्रहरीलाई समस्या भइरहेको छ । प्रहरीका अनुसार गय राति बेहोस अवस्थामा भेटिएका युवाको उपचारका क्रममा विराटटनगरको कोसी अस्पतालमा आज बिहान ६ः३० बजेतिर मृत्यु भएको हो । मृतकको साथबाट नवीकरणको म्याद सकिएको एउटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) भेटिएको छ । लाइसेन्समा नाम अमृतजंग बस्नेत र ठेगाना विराटनगर–९ उल्लेख छ । लाइसेन्स अनुसार उमेर २३ वर्ष हुन्छ ।

तर परिवारका सदस्य र आफन्त नभेटिँदा घटनाका बारेमा थप पुष्टि गर्न समस्या भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनु भयो । युवाको मृत्यु भएपछि शव कोसी अस्पतालमै राखेर आफन्त एवं परिवारका सदस्यको खोजी गर्दै पहिचानको प्रयास भइरहेको उहाँको भनाइ छ । श्रेष्ठका अनुसार उपचारका क्रममा अवस्था केही सामान्य बनेका बेला युवाले आफू मोरङको सुन्दरहरैँचास्थित सलकपुरको बासिन्दा भएको बताएपछि झन् अन्योल भएको छ । उनी विराटनगरका बासिन्दा हुन् कि सलकपुरका भन्ने यकिन गर्न प्रहरीले सकिरहेको छैन ।

युवा गय राति नेपाल–भारत सीमानजिक विराटनगर महानगरपालिका–१६ झमेली चोकमा बेहोस अवस्थामा भेटिएका थिए । सडकमा लडिरहेको देखेपछि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले राति ११ बजेतिर उद्धार गरेर उनलाई उपचारका लागि कोसी अस्पताल ल्याएको हो । ती युवा लागुऔषधका सेवनकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । भारतको जोगवनीबाट अत्याधिक लागुऔषध सेवन गरेर फर्कदा उनी बेहोस भएर ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button