Tune to BFM 91.2|Biratnagar

उपचार गराउन विराटनगर आएका यात्रुको बसभित्रै मृत्यु

विराटनगर, २६ पुस । मृगौलाको उपचार गराउन बस चढेर झापाबाट विराटनगर आएका एक यात्रुको आज बिहान बसभित्रै मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–४ केर्खाका २५ वर्षीय राजकुमार थापाको मृत्यु बसभित्रै भएको अवस्थामा शव भेटिएको हो ।

जनसेवा यातायातको मे १ ख ३३३३ नम्बरको बस चढेर आएका उनको शव चालकभन्दा दुई सिट पछाडिको सिटमा भेटिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृगौलाको पुरानै समस्या रहेका थापाले चार वर्षदेखि नियमित डायलासिस गराउँदै आएको खुलेको छ । परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार २०७३ साल पुस २१ गतेदेखि युवाको मृगौलाको नियमित डायलासिस हुँदै आएको थियो ।

डायलासिस गराउनकै लागि थापा आज पनि विराटनगरस्थित नेसन किड्नी सेन्टरमा आएको खुलेको छ । चालक प्रशन्न प्रसाईंले केर्खादेखि चढेका यात्रुलाई विराटनगर बसपार्कमा बस आइपुगेपछि आफूहरुले मृत्यु भएको अवस्थामा पाएको बताउनु भयो । त्यसपछि प्रहरीलाई घटनाको जानकारी गराइएको उहाँले बताउनु भयो ।

डीएसपी राईका अनुसार शवलाई पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेर परिवारका सदस्य र आफन्तलाई खवर गरिसकिएको छ । घटनाको अनुसन्धान थालिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button