Tune to BFM 91.2|Biratnagar

उपचार नपाएर बिरामीको मृत्यु

विराटनगर, १९ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण विराटनगरका अस्पतालले लिन नमानेपछि उपचार नपाएर एक जना बिरामी महिलाको मृत्यु भएको छ ।

कोरोनाको लक्षण देखिएको भन्दै अस्वीकार गरेपछि समयमा उपचार नपाएर धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको हिजो मृत्यु भएको हो । नरदेवीका दाजु शिवकुमार लिम्बू तुम्बा महालक्ष्मी–५ का वडा अध्यक्ष हुनुहुन्छ ।

उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई परिवारका सदस्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए । बीपीले आईसीयू खाली नभएको भन्दै विरानगरको न्युरो अस्पताल रेफर गरिदियो । नरदेवीलाई १ सय दशमलव २ डिग्री ज्वरो थियो ।

छोरी लक्ष्मी गुरुङ राईकाअनुसार न्युरोमा पनि चिकित्सकले उपचार गर्न मानेनन् । त्यसपछि विराट नर्सिङ होम लगियो । ज्वरो धेरै रहेको भन्दै कोरोनाको आशंकमा चिकित्सकले उपचार गर्न नमानेको लक्ष्मीको भनाइ छ । उहाँकाअनुसार त्यसपछि नोबेल पुर्याइएकोमा उपचारका क्रममा दिउँसो लगभग साडे तिन बजेतिर नरदेवीको मृत्यु भयो ।

नोबेलका चिकित्सकले डेढ घण्टा ढिलो ल्याएका कारण बचाउन नसकिएको जवाफ दिएको उहाँको भनाइ छ । लक्ष्मीले अरु अस्पताल कुदाए पनि उपचार गर्न नमानेको र नोबेल लैजान ढिलो हुँदा आमा गुमाउनु परेको बताउनु भयो । कोरोना त्रासका कारण अस्पताल क्षेत्र पनि आक्रान्त बनेका छन् । अस्पतालले सामान्य ज्वरो, रुघाखोकी लागेका र जटिल समस्या भएका बिरामीलाई पनि कोरोनाको शंका गरेर लिन अस्वीकार गरिरहेका छन् ।

जसका कारण सहज रुपमा उपचार नपाएर सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आएको नागरिक अगुवा रामबाबु दाहालले बताउनु भयो । यस विषयमा राज्यले समयमै ध्यान दिनु पर्ने उहाँको भनाइ छ । नरदेवीका दाजु समेत रहनु भएका वडा अध्यक्ष शिवकुमारले सर्वसाधारणको उपचार अस्वीकार गर्ने अस्पतालको गैरजिम्मेवारीपना र गम्भीर लापरबाहीका कारण बहिनी गुमाउनु परेको गुनासो गर्नु भयो ।

महालक्ष्मी नगरका प्रमुख पर्शुराम नेपालले बिरामीको आकस्मिक उपचार गराउनु पर्ने अस्पतालले अमानविय व्यवहार देखाएको बताउनु भयो । सबै बिरामीलाई कोरोना संक्रमित देख्ने अस्पतालको नजरले सर्वसाधारण जनताले उपचार नपाएर दुःख पाइरहेको उहाँको भनाइ छ । यस्ता अस्पताललाई सरकारले कारबाहीको दायरामा ल्याउनु पर्ने उहाँको माग छ ।

न्युरो अस्पतालका डाइरेक्टर राजेश भट्टराई कुनै पनि बिरामीको उपचार गर्न अस्वीकार नगरिएको दाबी गर्नु भयो । विराट असपलालका प्रशासन प्रमुख पदम विनाडीले अस्पतालमा कोरोनाको कुनै सुरक्षात्मक उपाय नभएका कारण बिरामीको उपचार गर्न अस्पतालले अस्वीकार गरेको हुन सक्ने बताउनु भयो ।

चिकित्सकहरुले उपचार गराउँदा धेरै जोखिम बहन गरिरहनु परेको गुनासो गरेका छन् । विश्वभर कोरोना त्रास बढिरहेका कारण कोरोनाको लक्षण मिल्ने बिरामीको उपचारमा चिकित्सक हच्किनु पर्ने अवस्था रहेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button