उर्लाबारीमा बसमा आगजनी

0
129

विराटनगर, २ बैशाख । मोरङको उर्लाबारी नगरपालिका–७ मा केही दिनदेखि रोकिराखेको बसमा आज विहान आगजनी गरिएको छ । सर्लाहीको लालबन्दी घर बताउने अन्दाजी ३० वर्षीय रामहरि माझीले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । माझीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले ना ४ ख ४९ नम्बरको बसमा विहान साढे ३ बजे तिर आगजनी गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो । उहाँका अनुसार आगजनी गर्नु पर्ने कारण भने खुलिसकेको छैन । घटनास्थल नजिकै मालबाँसे पेट्रोल पम्प र केही घरहरु पनि रहेका थिए । प्रहरी र दमकलले तत्काल आगो नियन्त्रणमा लिन सकेका कारण अन्यत्र फैलिएर ठूलो क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताउनु भयो । उहाँका अनुसार आगजनीका कारण बसमा पूर्ण रुपमा क्षति पुगेको छ । माझीले केही समयदेखि उर्लाबारीकै एउटा होटलमा काम गर्दै आएको खुलेको छ । मादक पदार्थ सेवन (मापसे) गरेर होटलबाट हिजो साँझ निस्किएका माझीले रातभर त्यही बसमा सुतेको र विहानपख लाइटरको प्रयोग गर्दै आगजनी गरेको एसपी केसीले बताउनु भयो । बस कसको हो भन्ने बारे पनि खुलिसकेको छैन । घटनाका बारेमा कोही कसैले जाहेरी दिइनसकेको प्रहरीले जनाएको छ । सम्बन्धित धनीबाट जाहेरी परेपछि कानुनी कारवाही अघि बढाउने प्रहरीको तयारी छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here