Tune to BFM 91.2|Biratnagar

उर्लाबारीमा भेटियो १८५ राउण्ड गोली

विराटनगर, २२ माघ । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा खाल्डो खनेर जमिनमुनि गाडिएको अवस्थामा एक सय ८५ राउण्ड गोली फेला परेको छ । दलबहादुर लिम्बूको घरनजिक खेतमा गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

उहाँका अनुसार स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा हिजो दिउँसो गोली भेटेपछि प्रहरीलाई खवर गर्नु भएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पुगेको टोलीले जमिनभित्र लुकाएर राखिएको गोली बाहिर निकाल्दै बरामद गरेर घटनाको अनुसन्धान थालेको जानकारी डीएसपी राईले दिनु भयो ।

उहाँका अनुसार घटनास्थल लिम्बूको घरबाट लगभग पाँच सय मिटर दक्षिणमा पर्छ । गोली द्धन्द्धका समयमा सुरक्षाकर्मीबाट जोगिन माओवादीका कार्यकर्ताले गाडेको र पछि लैजान बिर्सिएको हुनसक्ने प्रहरीले जनाएको छ । सशस्त्र द्धन्द्धका समयमा माओवादी कार्यकर्ता लिम्बूको घरमा आइरहने गरेको पाइएपछि प्रहरीले गोली उनीहरुले नै लुकाएको हुनसक्ने अनुमान गरेको हो । लामो समयदेखि जमिन मुनि गाडेर राखिएका कारण बरामद भएका गोली पड्किने अवस्थाका भने छैनन् ।

खिया लागेर ‘ड्यामेज’ भएका कारण गोली काम लाग्ने र पड्कने अवस्थामा नभएको डीएसपी राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button