एक करोड नौ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ
विराटनगर, २३ वैशाख । विराटनगर भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।
आज दिउँसो एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी नेत्र कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला, सिलिगढी गंगानगर वडा नं ५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै जिल्ला महजपुर, बिहार रौतिमिया वडा नं १२ का १८ वर्षीय पप्पु कुमार रहेका छन् ।
नाकामा भारतबाट प्रवेश गरेको डब्लूबी ७३ ई ७६३५ खाली गाडी चेकजाँच गर्ने क्रममा बोराभित्र राखेको अवस्थामा सो रकम फेला परेको थियो । खाली गाडीमा गुट्खाको र्यापरले बेरेर लुकाएर ल्याइएको अवस्थामा सो रकम बरामद भएको हो ।
खाली गाडी भएका कारण भारत पक्षले परीक्षण नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो । नेपालमा भने जाँच गर्दा बोराभित्र राखेको अवस्थामा रकम बरामद भएको सशस्त्र प्रहरीका एसपी कार्कीले जानकारी दिनुभयो ।