Tune to BFM 91.2|Biratnagar

एक स्वास्थ्यकर्मी सहित ३जना संक्रमितको मृत्यु

विाटनगर, ७ मंसिर । विराटनगर र धरानमा उपचाररत एक जना स्वास्थ्यकर्मी सहित संक्रमित ३ जनाको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिकाका कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा विराटनगरमा ज्यान गएको छ ।

सुनवर्षी–५ का ५९ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आज बिहान मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार बिहान ११ बजेतिर ज्यान गएका पुरुष दुई दिनदेखि कोभिड अस्पतालमा उपचाररत थिए ।

कोरोना संक्रमण भएपछि पुरुषलाई उपचारका लागि गत शुक्रबार अस्पताल भर्ना गरिएको उहाँले बताउनु भयो । मृतकमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या रहेको जानकारी बस्नेतले दिनु भयो । यस्तै कोरोना भाइरसको संक्रमणपछि विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन भएको हो ।सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको गए राति निधन भएको अस्पतालले जनाएको छ ।

उनलाई १७ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।उता सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित झापाको मेचीनगर–४ बाहुनडाँगीका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको गए राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको एक सातापछि उनको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button