एमकेका साझेदार खोज्दै प्रहरी

0
65

काठमाडौं – सुन तस्करीको मुख्य लगानीकर्ताको आरोपमा मुद्दा खेपिरहेका मोहनकुमार अग्रवाल (एमके) को घरमा छापा मारेलगत्तै उनका व्यापारिक साझेदारको खोजी सुरु भएको छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन टोलीले उनको घरबाट शुक्रबार बरामद गरेको विभिन्न कागजातका आधारमा व्यापारिक साझेदारको खोजी सुरु भएको हो। अग्रवालको घरमा छापा मार्दा भटिएका महत्वपूर्ण विवरणले तस्करीमा संलग्न गिरोहबारे थप सूचना मिलेको छानबिन टोलीका एक सदस्यले बताएका छन्। । मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित टोलीका अनुसार ३८ सय केजी सुन तस्करीमा अग्रवाल मुख्य लगानीकर्ता हुन्। सरकारले अनुसन्धान टोली गठन गरेलगत्तै उनी फरार भएका थिए । उनको घरमा दुई महिनादेखि ताला लागेको थियो। घरमा तीन महिनायता प्रहरीले निगरानी गर्दै आएको थियो । स्रोतका अनुसार उनका व्यापारिक साझेदारमा केही उच्च कर्मचारीका आफन्तसमेत रहेको भन्दै अनुसन्धान सुरु भएको छ।छानबिन टोलीका अनुसार विमानस्थलबाट तस्करी हुने सुनमा सबैभन्दा बढी लगानी अग्रवालकै हुने गरेको थियो भने २०७० सालमा बरामद भएको ३५ किलो सुनमा पनि उनको लगानी देखिएको थियो ।स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमै केही नयाँ व्यक्तिहरुको संलग्नता खुलिसकेको छ । ३३ किलो सुुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा उच्चस्तरीय अनुसन्धान टोलीले अग्रवाल, भुजुङ गुरुङ र छिरिङ वाङ्गेल घलेलाई नेपालमा तस्करी गर्ने प्रमुख व्यक्तिका रूपमा किटान गरिसकेको छ। अग्रवाल, गुरुङ र घले तस्करीको सुनमा लगानी गर्ने प्रमुख व्यक्ति रहेको टोलीको निष्कर्ष छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here