Tune to BFM 91.2|Biratnagar

एमालेको बैठक स्थलमा तोडफोड

विराटनगर, ७ साउन । नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा तोडफोड भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा हुने भनिएको बैठकस्थलमा आज बिहान ११ः३० बजेतिर तोडफोड भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन) पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आह्वान गरेको थियो ।

बैठक दिउँसो १ बजेतिर सुरु गर्ने तयारी थियो । तर त्यसअघि नै आएको एउटा समूहले तोडफोड र हुलदंगा मच्चाएको एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ । उहाँले तोडफोडमा संलग्नको पहिचान गर्ने काम भइरहेको बताए । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा आवद्ध रहेकाहरुले तोडफोड गरेको हुनसक्ने एमाले संस्थापन पक्षको आरोप छ ।

तर नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले घटनामा संलग्नता अस्वीकार गर्नु भएको छ । ‘हाम्रो समूहमा रहेका नेता कार्यकर्तालाई बैठकमा नजान यसअघि नै भनिसकिएको थियो,’ बास्तोलाले भन्नु भयो, ‘तोडफोडको जानकारी नभएको अवस्थामा बद्नाम गराउन सुनियोजित हिसाबले आरोप लगाइएको हुनसक्छ ।’ प्रहरीले दिएको जानकारी अनुसार एमाले भातृ संगठन युवा संघमा आवद्ध कुमार लिम्बू, एलिन लिम्बूसमेतको समूहले घटना गराएको हो । घटनापछि फरार बनेका उनीहरुको खोजी प्रहरीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button