Tune to BFM 91.2|Biratnagar

एम्बुलेन्समै मृत्यु भएका युवामा कोरोना नभएको पुष्टि

विराटनगर, १० साउन । विराटनगरका ठूला अस्पतालको लापरबाहीका कारण उपचार नपाएर एम्बुलेन्सभित्रै मृत्यु भएका एक युवामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना भाइरसको संक्रमण रहेको हुन सक्ने आशंका गर्दै विराटनगरका नोबेल, कोसी जस्ता ठूला अस्पतालले उपचार अस्वीकार गरेपछि एम्बुलेन्सभित्रै हिजो दिउँसो उनको मृत्यु भएको थियो ।

तर कोसी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गरेर परीक्षण गरिएपछि राति १० बजे उनमा कोरोना नरहेको पुष्टिसहितको रिपोर्ट प्राप्त भयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुुमनलाल दासले रिपोर्ट नेगेभिट आएपछि शव आज बिहान परिवारका सदस्यलाई बुझाइएको जानकारी दिनु भयो ।

शंकास्पद देखिएका कारण उपचारकालागि तत्काल भर्ना गर्ने अवस्था नभएको र बिरामीको एम्बुलेन्समै मृत्यु भएको उहाँको भनाइ छ । उहाँले अवस्था गम्भीर रहेका बिरामीलाई कोसीमा सम्भव नहुने भएपछि थप उपचारकालागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्ने तयारी हुँदाहुँदै घटना भएको बताउनु भयो ।

कोही शंकास्पद बिरामी आएमा कोरोना रिपोर्ट प्राप्त नहुनजेलसम्म उपचारका गराउन स्वास्थ्यकर्मीले आनाकानी गर्ने दासले स्वीकार गर्नु भयो । श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएपछि बिरामी अवस्थाका पदमलाई श्रीमती कमला र बहिनी चमेलीले स १ च १२०५ नम्बरको एम्बुलेन्समा राखेर विराटनगर ल्याएका थिए ।

दिउँसो २ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा पुर्याइए पनि उपचार गर्न चिकित्सकले मानेनन् । त्यसपछि लगभग २ः३० बजेतिर एम्बुलेन्समै कोसी अस्पताल लगियो । कोसीले पनि उपचार अस्वीकार गर्यो । लगभग एक घण्टापछि पदमको मृत्यु भएको एम्बुलेन्स चालक सुवास तामाङले बताउनुभयो ।

बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि गर्ने आधार अस्पतालले खोजेको र त्यो आफूहरुसँग नहुँदा उपचारनै गर्न अस्वीकार गरेको उहाँको भनाइ छ । मृत्यु भइसकेपछि पनि पदमको शव एम्बुलेन्समै दुई घण्टासम्म राखिएको थियो ।

पछि शव पीपीई लगाएका स्वास्थ्यकर्मीले आइसोलेसनमा लगेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button