Tune to BFM 91.2|Biratnagar

एसइईमा इलामका २३ वटै केन्द्रमा मा भाइरस परीक्षणका लागि हेल्प डेस्क

इलाम, ४ चैत । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा इलामका ४ हजार ८ सय ५२ विद्यार्थी सहभागी हुँदैछन् । चैत्र ६गते सुरु भएर १४ गते सकिने परीक्षाको सबै तयारी पूरा भएको इलामस्थित शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ ।

इलामका २३ वटै केन्द्रमा उत्तरपुस्तिका र केन्द्रनजिकैको प्रहरीकहाँ प्रश्नपत्रसमेत पुगिसकेको इकाईले जनाएको छ । इकाईका परीक्षा शाखा प्रमुख अम्बिकाप्रसाद खनालले परीक्षा दिनेमध्ये प्राविधिकतर्फ १ सय ९, खुलातर्फ ४६ र संस्कृतका १३ विद्यार्थी पनि रहेको बताउनुभयो । यसपटक प्रत्येक केन्द्रमा सम्बन्धित वडाले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि हेल्प डेस्क पनि राख्ने व्यवस्था मिलाइएको छ ।

हेल्प डेस्कमा वडाका स्वास्थ्यकर्मीले विद्यार्थीको तापक्रम जाँच गर्ने इकाईले जनाएको छ । परीक्षा तयारीका लागि सबै केन्द्राध्यक्षलाई तालिमसमेत दिइएको छ भने २ केन्द्रमा महिला केन्द्राध्यक्ष तोकिनुभएको छ । सदरमुकामको आदर्श माध्यमिक विद्यालयमा हेमलता उप्रेती र माङ्सेबुङ गाउँपालिकास्थित महेन्द्रोदय माविमा लक्ष्मी दाहाललाई केन्द्राध्यक्ष तोकिएको हो ।

इकाईका अनुसार परीक्षामा २ सय ४२ निरीक्षक, ४४ परीक्षा सहायक र ७५ कार्यालय सहयोगी खटिँदैछन् । प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी खटिने व्यवस्था रहेको तर कतिपय परीक्षा केन्द्रनजिकमा सशस्त्र प्रहरी बलको क्याम्पसमेत रहेकाले सुरक्षाकर्मीको संख्या अझ बढी हुने खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button