Tune to BFM 91.2|Biratnagar

एसपी सन्तोष खड्काको नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो काठमाडौंमा सरुवा

विराटनगर, ९ असार । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिनु भएका मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) सन्तोष खड्काको नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो काठमाडौं सरुवा भएको छ । एक वर्षभन्दा बढी समय मोरङमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा खड्का विवादरहित प्रहरी अधिकृतको छवि बनाउन सफल हुनु भयो ।

उहाँको नेतृत्वमा भएका सबै अनुसन्धानमा मोरङ प्रहरीले सफलता हात पार्न सक्यो । मोरङमा रहँदा जघन्य प्रकृतिका अपराधको अनुसन्धान, हतियार एवं लागुऔषध कारोबार, मानव बेचबिखन, चोरी–तस्करी र विभिन्न खालका अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन सफल एसपीका रूपमा खड्काले छुट्टै पहिचान बनाउन सक्नु भयो । विशेष गरेर यसअघिका प्रहरी प्रमुखले तोड्न नसकेको अवैध जुवाजन्य खेल फट्का खेलाउने गिरोहको जालो भत्काउन उहाँ सफल हुनु भयो । मिटरब्याजमा पैसा लगानी गरेर सर्वसाधारणलाई उठिबास लगाउने गिरोहमाथिको कारबाही एसपी खड्काको कार्यकालमा सबैभन्दा उत्कृष्ट देखियो । उत्कृष्ट कार्यक्षमताकै कारण प्रहरीमा इच्छाशक्ति हुँदा समाजमा हुने जुनसुकै अपराधलाई पनि कानुनको दायरामा ल्याउन सकिन्छभन्ने छाप छोड्न उहाँ सफल हुनु भएको छ ।

खड्काको ठाउँमा मोरङ प्रहरी प्रमुखका रूपमा एसपी जनार्दन जिसीको सरुवा भएको छ । जिसी यसअघि प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा कार्यरत हुनुहुन्थ्यो । उहाँ पनि सालिन र भद्र प्रहरी अधिकारीका रूपमा चिनिनुहुन्छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) मानबहादुर राईको पनि सरुवा भएको छ । झन्डै दुई वर्ष मोरङमा कार्यरत रहनु भएका राईको इलाका प्रहरी कार्यालय कटारी उदयपुरको प्रमुखका रूपमा सरुवा भएको हो । प्रवक्ताका रूपमा राईको कार्यकाल मोरङमा सफल भएको मानिन्छ । यसैबीच मोरङ र सुनसरीका सहित प्रदेश १ बाट नेपाल प्रहरीका सात जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले हिजो एकैपटक ५२ एसपीको सरुवा निकाल्दा प्रदेश १ बाट सात जना परेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button