Tune to BFM 91.2|Biratnagar

ए डिभिजन लिगको उपाधि मछिन्द्र फुटबल क्लबलाई


काठमाण्डौ ३ फागुन । मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । विस २०६० सालमा पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो ।

फाइनल सरह रहेको अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । रञ्जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए । जितसँगै मछिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो । उपाधि जित्ने क्रममा मछिन्द्रले आर्मीलाई २ अंकले पछि पार्याे ।

अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो । यस्तै लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब तेस्रो, २६ अंक जोडेको थ्री स्टार चौंथो र २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रह्यो । १९ अंक जोडेर जावलाखेल युथ क्लब छैटौं स्थानमा रहन सफल भयो । अब शीर्ष ६ टोलीले आगामी बैशाखमा हुने राष्ट्रिय लिग खेल्नेछ । यस सिजनमा ४ अंक जोडेको सरस्वती युथ क्लब ’बी’ डिभिजनमा घटुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button