Tune to BFM 91.2|Biratnagar

ओलीमा सरकार सञ्चालन गर्ने योग्यता नभएको प्रबुद्ध नागरिक अभियानको आरोप

विराटनगर १४ माघ । प्रबुद्ध नागरिक अभियान समिति विराटनगरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय विरुद्ध आज सडकमा पत्रकार सम्मेलन गरि विरोध जनाएको छ । प्रधानमन्त्री ओलीले संविधान भन्दा पनि आँफुलाई माथि राख्ने काम गरेको प्रबुद्ध नागरिक अभियानको आरोप छ ।

अभियानका संयोजक प्राध्यापक कृष्णप्रसाद पोखरेलले प्रधानमन्त्री ओलीमा सरकार सञ्चालन गर्ने योग्यता नभएको बताउनुभयो । उहाले भन्नुभयो,‘ओली गुट चलाउन योग्य देखिए ।’ पार्टी र सरकार सञ्चालनमा उनी असफल सावित भएको पोखरेलको टिप्पणी छ । प्रधानमन्त्री ओलीको अहिलेको बोलीले उहाको स्तर देखिएको प्राध्यापक पोखरेलले बताउनुभयो । राजनीतिक विश्लेषक समेत रहेका उहाले प्रधानमन्त्री ओली आँँफुुसँग असहमत हुने वर्गलाई देखि नसहने प्रवृत्ति रहेको बताउनुभयो । पोखरेलले भन्नुभयो,‘ ओलीले तानासाही पद्धती अपनाए ।’

विभाजित पार्टी निर्वाचनमा गए बहुमत त आउँदैन, दुई तिहाई त परको कुरा हो उहाले भन्नुभयो। निर्वाचनको माहौल नभएकाले बैशाखमा निर्वाचन संभव नभएको उहाको भनाई छ । प्राध्यापक पोखरेलले भने,‘ नेकपाको ओली गुट बाहेक सवै सडकमा छन, कसरी वैशाखमा चुनाव संभव छ ?’ प्रबुद्ध नागरिक अभियानका सदस्य तथा अर्थशास्त्री प्रा.डा. प्रमोदकुमार झाले मुलुक र संविधान भन्दा माथि प्रधानमन्त्री हुनै नसक्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुनै नसक्ने उहाले बताउनुभयो । झाले भन्नुभयो,‘ काम चलाउ अवस्थामा रहेका प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ ।’ काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तारबाटै प्रधानमन्त्री ओलीको नियत स्पष्ट भएको झाले बताउनुभयो । संसद पुर्नस्थापना भए मुलुकले गतिलिने उहाको विश्वास छ ।

नागरिक अभियानका सदस्य डा.मेदनी सेडाईले प्रधानमन्त्री ओलीले कुनै तत्वको प्रभावमा परेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो। उहाले भन्नुभयो,‘ प्रधानमन्त्री ओलीलाई संसदीय पद्धती र व्यवस्थाको समस्या हो की ?’ प्रधानमन्त्री ओलीको कदम विरुद्ध बौद्धिक नागरिक बर्गको अभियानलाई शसक्त रुपमा परिचालन गर्न १ सय १० सदस्यीय प्रबुद्ध नागरिक अभियान समिति घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button