Tune to BFM 91.2|Biratnagar

ओलीलाई घुँडा टेकाएरै छाड्ने , तीन पुर्व प्रधानमन्त्रीहरुको उद्घोष

विराटनगर ,१६ माघ । नेकपा दाहाल–नेपाल समूहका नेता तीन पुर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने उद्घोष गर्नुभएको छ । ओलीको शासन अव धेरै नटिक्ने उहाहरुको दावी छ ।

नेकपा प्रदेश १ को आयोजनामा आज विराटनगरमा आयोजित विरोधसभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री ओली प्रतिक्रियावादीको एजेन्ट भएको दावी गर्नुभयो । राजाफाल्ने जनताले श्री ३ ओलीलाई पनि फाल्ने उहाको विश्वास छ । ओलीको सेटिङलाई जनताले भत्काई छाड्ने अध्यक्ष दाहालले बताउनुभयो । जरुरत भए संसद बैठक शुरु गरिने उहाको भनाई छ ।

सर्वोच्च अदालतप्रति पूर्णविश्वास रहेकाले अहिले नै त्यो काम नगरिएको दाहालले बताउनुभयो । उहाले भन्नुभयो,‘ सर्वोच्चले गर्ने फैसलाको विश्वास भएकाले धैर्य गरेका छौं ।’ अहिले नै संसद बैठक बस्न जरुरी नठानिएको अध्यक्ष दाहालले बताउनुभयो । जनताले ५ बर्षका लागि मत दिएर पठाएकाले प्रधानमन्त्रीले भङ्ग गर्दैमा संसद विघटन नहुने उहाले बताउनुभयो । उहाले भन्नुभयो,‘ संसद शुरु गरेर ओलीलाई कारवाही गरिन्छ ।’ संसद हैन ओली भङ्ग भएको दाहालको भनाई छ । ओली प्रतिक्रियावादीको गोटी बनेर सामान्तबाद सामु लम्पसार परेको अध्यक्ष दाहालको आरोप छ ।दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताको त्यागमाथि प्रधानमन्त्री ओलीले घात गरेको बताउनुभयो । ओलीबाट संविधानको घाँटी रेट्ने काम गरेको नेपालले बताउनुभयो ।

ओलीको ओरालो यात्रा शुरु भएका उहाले बताउनुभयो । उहाले भन्नभयो,‘ संविधान, गणतन्त्र, संघीयता सिध्याउन खोज्न ओलीलाई घुडा टेकाएरै छाड्छौं ।’ पार्टी भन्दा माथी आँफुलाई ठान्ने व्यक्ति कम्युनिष्ट हुन नसक्ने अध्यक्ष नेपालको भनाई छ । ओलीको पार्टी नेकपा हुनै नसक्ने उहाले दावी गर्नुभयो । नेता नेपालले भन्नुभयो ओलीको पार्टी भनेको तमासा पार्टी हो ।’ डमरु बजाउँदै केन्द्रीय सदस्य बाँडेका ओलीको अहिले अनुहार खुईलिदै गएको नेता नेपालले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चुनाव नगराउने उहाले बताउनुभयो । बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली भष्मासुर, प्रतिगामी भएको संज्ञा दिनुभयो । उहाले ओली ठग भएको आरोप लगाउनुभयो । खनालले भन्नुभयो,‘ झापा संघर्षका नेता मानिन्थे, तर ठग रहेछन् ।’

ओलीका दिन अव धेरै नभएको उहाले बताउनुभयो । जनताको आशा र अपेक्षमाथि कुठाराघात गर्ने ओलीलाई अव ठिक लगाईने खनालले बताउनुभयो । उहाले ओलीलाई सडकमा आएर हेर्न आग्रह पनि गर्नुभयो।

खनालले भन्नुभयो,‘ टिभीबाट भुक्न छाडेर, सडकमा आएर हेर्नुस् ।’ प्रदेश १ इन्चार्ज भीम आचार्य, स्थायी कमिटी सदस्य योगेश भट्टराई लगायतका नेताहरुले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय विरुद्ध सवै एक जुट हुन नेताहरुको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button