ओलीले नेपालको संविधान र व्यवस्थामाथि ‘कु’ गरे : संविधानविद् डा. भीमार्जुन आचार्य
विराटनगर, ५ पुस ।संविधानविद् डा. भीमार्जुन आचार्यले संसद विघटनको प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कु’ गरेको बताउनुभएको छ । गैरसंवैधानिक रुपमा संसद विघटनको प्रस्ताव गरेर ओलीले नेपालको संविधान र व्यवस्थामाथि ‘कु’ गरेको डा. आचार्यको भनाइ छ ।
संवाददातासँग कुरा गर्दै संविधानविद् आचार्यले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम कानूनी र संवैधानिक रुपमा दुर्भाग्यपूर्ण भएको उहाँको भनाई छ । प्रधानमन्त्रीको कदमले संवैधानिक व्यवस्थामा निम्त्याउने संकटको जिम्मेवारी पनि प्रधानमन्त्री अोलीले नै लिनुपर्ने उहाँले बताउनुभयो । नेपालको संविधानले कुनै पनि हालतमा÷बाहानामा प्रधानमन्त्रीले संसद विघटनको अधिकार नदिएको उहाँले बताउनुभयो ।
२०४७ सालमा संविधानले नै प्रधानमन्त्रीलाई सो अधिकार दिएकोमा ४ पटकसम्म त्यसको दुरुपयोग भएको उल्लेख गर्दैए उहाँले अहिलेको संविधानअनुसार प्रधानमन्त्रीलाई त्यो अधिकार नदिएको बताउनुभयो । संविधानविद् खिमलाल देवकोटाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अराजनीतिक र अनैतिक भएको टिप्पणी गर्नुभएको छ ।
झण्डै दुई तिहाई नजिक बहुमत भएको सरकारका प्रधानमन्त्रीले संविधान विपरित संसद विघटनको निर्णय गर्नु ‘विनाशकाले विपपरित बुद्धि’ भएको टिप्पणी उहाँले गर्नुभयो । संविधानले प्रधानमन्त्रीलाई कुनै पनि हालतमा संसद विघटनको अधिकार नदिएको उहाँले बताउनुभयो ।
संविधानमा निर्वाचित प्रतिनिधिविहिन संसदको परिकल्पना नगरिएको उल्लेख गर्दै उहाँले संविधानको धारा ७६ मा बहुमतको सरकार निर्माण गर्न नसक्ने अवस्थामा दुई दल मिलेर सरकार बनाउने, त्यो पनि हुन नसके अल्पमतको सरकार बनाउने र त्यो पनि हुन नसके प्रतिनिधिसभाको सदस्यले सरकार बनाउन चाहेमा सरकार बनाउन सक्ने व्यवस्था गरिएको बताउनुभयो