Tune to BFM 91.2|Biratnagar

औषधि विभाग विराटनगरका अधिकृत दुई लाख घुससहित पक्राउ

विराटनगर, १३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीलाई आज दिउँसो नियन्त्रणमा लिएको छ ।

आयोगको इटहरीस्थित कार्यालयको विशेष टोलीले सुवेदीलाई घुसवापत लिएको दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडिको भट्टराई होटलबाट सुवेदीलाई पक्राउ गरिएको पुष्टि अख्तियार इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले गर्नु भएको छ ।

सुवेदीको घर मोरङको उर्लाबारी नगरपालिका–५ हो । सुवेदीलाई दिउँसो ४ बजेतिर अख्तियारले घुस रकम लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मा समृद्धि फर्मा नामक औषधि पसल सञ्चालन गरेर बसेका पुष्प ढुंगानासँग उनले दुई लाख रुपैयाँ घुस लिएको खुलेको छ । उपचार गराउने क्रममा गत वैशाख ५ गते बिरामीको मृत्यु भएपछि मुद्दा मिलाइदिने भन्दै घुस मागिएको ढुंगानाले बताउनु भयो ।

विभागको निर्देशनमा गत भदौ ५ गते औषधि पसल पनि सिल गरिएको छ । पसलको चाबी आफूले राख्दै ढुंगानालाई भने विभागले तारेखमा राखेको थियो । ढुंगानका अनुसार सरकारी वकिल कार्यालयले मुद्दाका लागि राय माग गरेको र जेल नपर्ने हिसाबले त्यसलाई मिलाइदिने भन्दै सुवेदीले घुस मागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button